जेठ २४ गते। प्रधानमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले मोरङको कटहरी गाउँपालिका–२ मा निर्माण गरिएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेसनको उद्घाटन गरेका छन्। आज आयोजित विशेष समारोहमा सहभागी भई उनले उक्त सुविधा सम्पन्न अस्पतालको उद्घाटन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारी सहयोग विना, असल नेतृत्व र स्थानीय समुदायको सक्रिय प्रयासबाट आधुनिक अस्पताल स्थापना हुनु उत्साहजनक र प्रेरणादायी उपलब्धि भएको बताए। उनले समाजको सक्रियता र सहयोगले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
उक्त अस्पतालको स्थापना सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित रही गरिएको समाजले जनाएको छ। यस संस्थाले पूर्वी नेपालका विपन्न वर्गलाई गुणस्तरीय, सुलभ र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।
उद्घाटन समारोहमा संस्था अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलसहित स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति थियो। अध्यक्ष मण्डलले अस्पतालमार्फत निम्न आयस्तर भएका नागरिकलाई सहज उपचार सेवा दिने लक्ष्य रहेको बताए।
जीवन विकास सामुदायिक अस्पताल आधुनिक सुविधा, दक्ष जनशक्ति र सामाजिक सेवामूलक भावनाबाट सञ्चालित एक नमूना अस्पताल बन्ने अपेक्षा गरिएको छ।














Discussion about this post