चैत १२ गते। सिरहाको गोलबजार नगरपालिका-९ गोविन्दपुरमा गत फागुन २९ गतेदेखि बेपत्ता भएकी १३ वर्षीया गुलशना खातुनको शव आज बिहान गाउँ नजिकै खोलामा फेला परेको छ।
स्थानीय बेचन अलीकी छोरी गुलशनाको शव गाउँदेखि पश्चिम करिब ५०० मिटर टाढा खोलाको किनारमा भेटिएको हो। गाउँनजीकैको खाल्डोमा गाडिएको शव कुकुरले बाहिर निकालिएको देखेपछि बाख्रा चराउन गएका स्थानीयले खबर गरेका थिए। घटनाबारे जानकारी दिँदै पूर्व वडा अध्यक्ष रामपुकार कामतीले बालिकाको हत्या गरेर बोरामा हालेर गाडिएको हुनसक्ने बताएका छन्।

गुलशना स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन्। उनी फागुन २९ गते बिहान ९ बजे घरबाट बाहिर निस्केकी थिइन्। हराएको दुई दिनपछि, चैत १ गते, उनकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा छोरीको खोजतलासका लागि निवेदन दिएकी थिइन्।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले सूचना प्राप्त भएलगत्तै आवश्यक अनुसन्धान थालिएको बताए। ‘सूचना पाउनेबित्तिकै हामीले जंगल, घर, बालिकाको निवास तथा आसपासका क्षेत्रहरूमा खोजी गर्यौं। तर, आज दुर्भाग्यवश उनको शव फेला परेको छ,’ उनले भने। हाल शव उत्खनन तथा अनुसन्धान प्रक्रिया जारी रहेको डीएसपी बाखुले जानकारी दिए।
बेपत्ता बालिकाका पिता बेचन अली दुई दिनअघि वैदेशिक रोजगारीका लागि कतार गएका थिए। अनुसन्धानका क्रममा छिमेकीको घरको सिसिटिभी फुटेजमा गुलशना देखिएकी थिइन्। त्यही समयमा एउटा मोटरसाइकल र एउटा टेम्पु आएको देखिन्छ। गुलशनालाई ती सवारी साधनमध्ये कुनै एकमा राखेर लगिएको हुनसक्ने आशंका गरिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।















Discussion about this post