चैत १२ गते। माध्यमिक शिक्षा परीक्षा (एसईई)मा परीक्षाको मर्यादा विपरीत गतिविधि गरेको भन्दै सिरहाको कर्जन्हा परीक्षा केन्द्रका एक निरीक्षकलाई निष्कासन गरिएको छ। विज्ञान विषयको परीक्षामा अनुशासनहीन क्रियाकलापमा संलग्न रहेको पाइएपछि शिक्षक सुनिल कुमार लामालाई निष्कासन गरिएको हो।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दीपक कोलोनीका अनुसार निरीक्षक स्वयं परीक्षार्थीलाई चिट चोराउन सक्रिय देखिएका कारण उनलाई तत्काल निष्कासन गरिएको हो। परीक्षामा परीक्षार्थीलाई गेसपेपर उपलब्ध गराउने, मोबाइल प्रयोग गर्न सहयोग गर्ने तथा चिट चोराउन मद्दत गर्ने गतिविधिमा संलग्न रहेको पुष्टि भएपछि यो कदम उठाइएको हो। साथै, उनीमाथि थप अनुसन्धान गरी आवश्यक कारबाही हुने बताइएको छ।
सुनिल कुमार लामा जनता आधारभूत विद्यालय, कर्जन्हा ४ भुल्केका शिक्षक हुन्। उक्त परीक्षा केन्द्रमा जिल्लाकै प्रतिष्ठित निजी विद्यालय स्वस्तिक पाठशाला, मिर्चैया र नेपाल राष्ट्रिय फुलकुमारी महतो माध्यमिक विद्यालयका परीक्षार्थीहरु परीक्षा दिइरहेका थिए।
सिरहा जिल्लामा ५० वटा परीक्षा केन्द्र रहेका छन्। यस वर्षको परीक्षामा १०,७०३ परीक्षार्थी सहभागी भएका छन्। परीक्षाको निष्पक्षता कायम राख्न कडा निगरानी गरिने र अमर्यादित गतिविधिमा संलग्न जोसुकैलाई आवश्यक कानूनी कारबाही गरिने शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।















Discussion about this post