जनकपुरधाम/फागुन १९ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सुशासन बिना दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने भएकाले प्रदेश सरकार सुशासनका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आयोजनामा जनकपुरधाममा सम्पन्न “राष्ट्रिय सदाचार नीति, दिगो विकास र संकल्प प्रस्ताव” सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले प्रदेशमा सुशासन तथा दिगो विकासको लक्ष्य पूरा गर्नका लागि सरकार इच्छुक भए तापनि प्रदेशसँग आफ्नै प्रहरी, निर्णय तहको निजामती कर्मचारी तथा पर्याप्त बजेटको अभाव रहेको बताउनुभयो।
उहाँले मुलुकमा नै केही गरेर देखाउने किसिमको नीति कार्यान्वयन गरी विदेशिने युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सके मुलुक समृद्ध बन्ने धारणा राख्नुभयो।
कार्यक्रममा राष्ट्रिय सभा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला देवी पन्तले सुशासनको अभावमा कुनै पनि लक्ष्य पूरा गर्न कठिन हुने भएकाले प्रदेश स्तरमा सुशासन प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। त्यस्तै, समितिका सदस्य डा. अन्जान शाक्यले संघ, प्रदेश तथा स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
मधेश प्रदेश सरकारका अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले मधेश प्रदेशको बजेटलाई दिगो विकासका लक्ष्य पूरा गर्न योगदान दिने गरी परिचालन गरिएको दाबी गर्नुभयो।
कार्यक्रममा विभिन्न विषयका विज्ञ तथा सरोकारवालाहरूले सुशासन तथा दिगो विकासलाई प्रभावकारी बनाउन आवश्यक नीति र रणनीतिबारे छलफल गरेका थिए।




















Discussion about this post