फागुन ६ गते। सिराहाको नवराजपुर गाउँपालिकामा भएको १७ वर्षीय किशोरी रिंकु सदाको शङ्कास्पद मृत्यु घटनाको विस्तृत अनुसन्धान गर्न मधेस प्रदेश प्रहरीले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा बनेको उक्त समितिले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।
गत माघ ३० गते आफ्नै घरको टिनको छानामा झुन्डिएको अवस्थामा फेला परेकी रिंकु घटनाको पृष्ठभूमि थप रहस्यमय बन्दै गएको छ । स्थानीय तीन युवक— रूपेश मण्डल, चन्दन साह, र राम विनय मण्डलले सामूहिक बलात्कार गरेको आरोपमा पञ्चायत बसेको तथ्य बाहिरिएपछि घटना झन् गम्भीर मोडमा पुगेको छ । घटनापछि स्थानीय वडा सदस्य नथुनी साहको रोहवरमा पञ्चायत बसेर आर्थिक लेनदेनमार्फत मुद्दा मिलाउन खोजिएको खुलासा भएको छ । पीडित पक्षका अनुसार, पञ्चायतले रूपेश मण्डललाई डेढ लाख जरिवाना तिर्नुपर्ने निर्णय गरेको थियो, जसलाई उनका परिवारले अस्वीकार गर्दै रकम घटाउन माग गरेका थिए ।
पञ्चायतपछि पीडित किशोरी मानसिक तनावमा परेकी थिइन् । न्याय नपाएको निराशामा उनले आत्महत्या गरिन् वा उनको हत्या भयो भन्ने विषय अझै अनुसन्धानको चरणमै छ । तर, परिवारले प्रहरी प्रशासनले नै अपराधलाई दबाउन खोजेको आरोप लगाएको छ । जाहेरी दर्ता गराउन जाँदा पटक-पटक सच्याउन दबाब दिइएको र अन्ततः आत्महत्या दुरुत्साहनको मात्र मुद्दा दर्ता गरिएको परिवारको गुनासो छ ।
घटनापछि राज्यको भूमिका प्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभाका सांसदहरूले दोषीलाई तत्काल कानुनी कारबाहीको माग गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का सांसद वीरेन्द्रप्रसाद महतोले प्रतिनिधिसभामा बोल्दै भने, ‘न्याय नपाएर आत्महत्या गर्नुपर्ने अवस्था किन आयो? अपराधीलाई उन्मुक्ति दिन खोज्ने राज्यको मौनता चित्तबुझ्दो छैन। दोषीलाई कडा कारबाही गरियोस् ।’
त्यस्तै, नेकपा एमाले सांसद सम्झना थपलियाले पीडकहरू अझै फरार रहेको र प्रहरी निष्क्रिय देखिएकोप्रति असन्तोष व्यक्त गर्दै भनिन्, ‘बलात्कारजस्तो गम्भीर अपराधमा पनि प्रहरी जाहेरी लिन आनाकानी गरिरहेको छ। राज्य किन मूकदर्शक बनेको छ?’
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार, घटना रहस्यमय देखिएको र विस्तृत अनुसन्धान जारी रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) वीरेन्द्रकुमार पासवानले पीडित परिवारलाई पूरक जाहेरी दिन आग्रह गरिएको जानकारी गराए । उनले भने, ‘प्रहरीले निष्पक्ष छानबिन गर्नेछ र दोषीहरूलाई कानुनी कठघरामा ल्याउनेछ ।’
तर, स्थानीय तहमा प्रहरीमाथि नै अविश्वास देखिएको छ । पञ्चायती प्रक्रियाबाट न्याय खोज्ने प्रयास र प्रहरीको ढिलासुस्तीले पीडित परिवार थप पीडित बनेका छन् । रिंकु सदाको मृत्यु सामान्य आत्महत्या मात्र हो कि योजनाबद्ध अपराध? यसबारेको सत्य तथ्य बाहिर आउन बाँकी छ । प्रदेश प्रहरी कार्यालयले गठन गरेको छानबिन समितिले न्याय दिन सक्नेछ वा विगतझैँ अपराधी उन्मुक्त हुनेछन्? यो प्रश्नको उत्तर अझै अनिश्चित छ । तर, पीडित परिवार र मानव अधिकारकर्मीहरू निष्पक्ष छानबिनको माग गर्दै निरन्तर आवाज उठाइरहेका छन् ।















Discussion about this post