जनकपुरधाम/फागुन १ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले जनकपुरधामस्थित पाँच निजी अस्पतालको अनुगमन गरेका छन् । अनुगमनक्रममा उनले अवैध र अनाधिकृत ढङ्गले सञ्चालन भइरहेका जनकपुरधामका दुई निजी अस्पताललाई त्यहाँ भर्ना रहेका बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गरी सेवा सञ्चालन अनुमति लिने प्रक्रियामा आउन निर्देशन दिएका छन् ।
स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनप्रसाद सिँहसहित निजी अस्पताल अनुगमनमा पुगेका मुख्यमन्त्री सिँहले सेवा सञ्चालन अनुमति प्राप्त नगरेका पिडारीचोकस्थित जनकपुर मधेश हस्पिटल र रामानन्दचोकस्थित जनकपुर गोल्डन अस्पतालका सञ्चालकहरूलाई अस्पताल बन्द गरी कानुनसम्मत तरिकाले संस्था सञ्चालन गर्न सेवा सञ्चालन अनुमति लिने प्रक्रियामा जान निर्देशन दिएका हुन् । अनुगमनमा ती दुवै अस्पतालसँग सेवा सञ्चालनसँग सम्बन्धित कुनै पनि कागजात फेला परेनन् ।
मुख्यमन्त्री सिँहले जिरोमाइलस्थित ज्योति आँखा अस्पताल र रामानन्दचोकस्थित सुरक्षा अस्पताललाई आवश्यक कागजातसहित शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पर्क अस्पताल सञ्चालकहरूलाई निर्देशन दिएका छन् । उनले जनकपुरधामकै वंशीचोकस्थित हिरा अस्पताललाई भने आकस्मिक कक्षको बेड सँख्या घटाउन निर्देशन दिएका छन् । सेवा सञ्चालन अनुमति प्राप्त स्वास्थ्य संस्थाले कुल बेड सँख्याको १० प्रतिशत मात्र आकस्मिक कक्षमा राख्नसक्ने प्रावधान छ । तर, त्यस व्यवस्थाविपरीत अधिकांश अस्पतालले अनुमतिप्राप्त बेड सँख्याको अनुपात नमिलाई बढी सँख्यामा आकस्मिक कक्षमा बेड राख्ने गरेका छन् ।
यसअघि मुख्यमन्त्री सिँहले २१ निजी अस्पतालको अनुगमन गरेका थिए । त्यसक्रममा सेवा सञ्चालन अनुमति प्राप्त नगरेका र नवीकरण नगराएका संस्थालाई बन्द गर्ने निर्देशन दिएका थिए । निर्देशन अटेर गर्ने जनकपुरधामको भ्रमरपुराचोकस्थित जनकपुर मोर्डन हस्पिटलका सञ्चालक भनिएका रामभरोस महतोलाई प्रहरीले आज पक्राउ गरेको छ ।
Discussion about this post