मङ्सिर २३ गते । प्रत्येक ५ बर्षमा लाग्ने चर्चित गढीमाई मेला अहिले चलिरहेको छ । यो मेला मधेश प्रदेशको ३ वटा जिल्लाका ११ स्थानमा लाग्ने गर्छ ।यस अघि जस्तै अहिले पनि मध्य तराईका रौतहटको ७, सर्लाहीको २ र बाराको २ गरी ११ स्थानमा मेला लागिरहेको छ।
यतिबेला मेला क्षेत्रमा भक्तजन तथा दर्शकहरुको ठूलो भीड लागेको छ। मेलामा नेपाल मात्र नभई छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थीहरुको घुईंचो लागेको छ । सबैभन्दा बढी बलि चढाउने भएकाले बाराको वरियारपुर–२ स्थित गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ। पशु अधिकारकर्मीहरूले पशुबलि प्रथाको विरोध जनाउँदै आए पनि परम्परागत मान्यता र भाकल पूरा गराउन सर्वसाधारणले बलि दिने गरेका छन्।
यहाँ मुसा, परेवा, बोको, राँगो र खरायो गरी पाँच जन्तुलाई पञ्चबलि चढाएपछि सर्वसाधारणले भाकलअनुसार बलि चढाउने गर्छन्। यतिमात्र होइन, यहाँ तान्त्रिक दुखा धामीले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर चढाएरपछि बलि खुल्छ । यस पटक पनि तान्त्रिक दुखा धामीले आफ्नो शरीरको निधार, कान, जिब्रो, दाहिने छाती, दाहिने तिघ्रा गरी ५ अंगबाट रगत निकालेर चढाएपछि बलि शुरु भएको थियो । भक्तजनहरुले बलिका लागि ल्याईएका रागालाई ब्रम्हस्थान सँगैको वंधशालामा संकलन गरेका थिए । यसरी संकलन गरिएका राँगालाई गढीमाई पुजा ब्यवस्थापन समितिले तोकेका ३ सय जना स्वंयम सेवकहरुले धारिलो घरेलु हतियार, खुडा, खुकुरी, तरवारले शीर छेदन गरी बलि दिने गरेका छन् ।
यस्तो छ गढीमाईको धार्मिक किम्वदन्ति
किम्बदन्ति अनुसार, हत्या अभियोगमा जेल परेका भगवान दास थारुले जेलबाट छुटकारा पाएपछि फर्किदा ल्याएकोे त्रिसुल गाढेको स्थानमा अहिले गढिमाई मन्दिर छ । तिनै थारुका सन्तानबाट १० औं पुस्ताका मंगल चौधरी हाल मन्दिरका मुल पुजारी रहनुले १७ आंै सताव्दी देखि चलेको यो किम्बन्तिले श्रद्धालु, भक्तजनहरुका लागि आस्था र जनविश्वास बढाएको हो ।
जेल घरमा राति निदाएको बेलामा सपनामा आएकी मकवापुरगढीकी तुलजा भवानी अर्थात गढीमाईले मलाई तिम्रो गाउमा लैजाउ, अनि मात्र तिमी जेल मुक्त हुनेछौ र तिम्रा सारा दुः ख पीडा समेत हरेर जानेछ । भनेर हत्या अभियोगमा जेलमैं सजाय भोगि रहेका भगवान दास थारुलाई सपनामा दर्शन दिनु भएपछि जेलमुक्त भएका थारुले भवानीले दिएको त्रिशुल बाराको वरियारपुरमा ल्याएर गाढेका किम्वदन्ती छ । तिनै थारुका वंशजले त्यसै बेलादेखि गढीमाई मन्दिरको रेखदेंख र पूजाआजा गर्दै आएको बताईन्छ ।
गढीमाईमा पाँच वर्षे बलि यसरी शुरु हुन्छ
तिथि अनुसार मार्ग शुक्ल सप्तमीका दिन मन्दिरका मुल पुजारीले तान्त्रिक विधिद्धारा सेतो मुसा, परेवा, हास, सुङ्गुर र राँगा समेतको गरी पन्चवली दिएपछि मन्दिरमा सर्वसाधारणको लागि पनि वली खुल्ला हुने मन्दिरका मुल पुजारी मंगल चौधरीले बताउँछन् ।
‘मान्छेको शरिरको ४ अंगबाट रगत चढाईन्छ । जसलाई नर वली भनिन्छ । नर बलिका लागि रौतहट सिम्रीका दुखा धामीले गढीमाईको विशेष पुजा, आराधानासँगै अन्य गढीमाईका मुल पुजारी, पुजारीहरुका साथमा रही आफ्नो शरीरबाट रगत निकाली नर वली स्वरुप रगत चढाउँदै आएका छन् ।
‘यस अघि रातभर पुजा हुन्छ । पुजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा अचानक आफै बत्ती बल्छ र पञ्चबलि हुन्छ’- मुल पुजारी मंगल चौधरीले सुनाए ।
हिन्दू धर्म संस्कृतिमा पशु बलिलाई शक्तिसग जोडेर हेर्ने प्रचलन सदियौदेखि रही आएको छ । शक्तिकी देवीलाई खुसी पार्न बलि अनिवार्य भएको परापूर्वकालदेखि नैं मानिदै आएको छ ।
Discussion about this post