भदौ १७ गते। चुच्चेपाटीस्थित एभरट्रष्ट बचत तथा ऋण सहकारीको रकम हिनामिना गर्ने सहकारीका उपाध्यक्ष सहित ५ पदाधिकारी पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको टोलीले सहकारीका उपाध्यक्ष ३९ वर्षीया बबिता डंगोल, सचिव ५७ वर्षीय कान्छाभाई डंगोल, कोषाध्यक्ष ३७ वर्षीय विष्णुप्रसाद फुँयाल र सदस्यहरू ४८ वर्षीय रामलाल महर्जन र ४६ वर्षीय अमरभाई बज्राचार्यलाई पक्राउ गरेको हो।
उनीहरूमाथि सहकारी नै बन्द गरेर बचतकर्ताको १५ करोड ९१ लाख ४ हजार ७३६ रुपैयाँ रकम अपचलन गरेको आरोप रहेको सीआइबीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए। सहकारी सञ्चालक र कर्मचारीहरूले बचतकर्तालाई आकर्षक ब्याजदर दिने प्रलोभनमा पारी सहकारी मुद्दती निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा रकम जम्मा गर्न लगाएका थिए।
मासिक, त्रैमासिक र वार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि बचतको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने भनिए पनि साँवाब्याज फिर्ता नदिएको पाइएको छ। बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन पटक पटक पहल गरे पनि आवश्यक पहल नगरी उनीहरूले कार्यालय बन्द गरी बचतकर्ताको रकम हिनामिना गरेका थिए।
सिआइबीले एभरट्रष्ट सहकारी र यसका शाखाहरूबाट पीडित बचतकर्तालाई ब्यूरोमा सम्पर्क गर्न अनुरोध गरेको छ। पक्राउ परेका पाँचैजनामाथि ठगी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ८ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताए।




















Discussion about this post