काठमाडौँ/श्रावण २८ गते। सहकारी पीडित राजेन्द्र स्थापितको शव लिएर आन्दोलन गरिरहेका आन्दोलनकारी तथा मृतक परिवारलाई राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले भेटघाट गरेका छन् । मृतक स्थापितको शव लिएर काठमाडौँको रत्नपार्कमा धर्नामा बसिरहेका आन्दोलनकारी तथा मृतक परिवारलाई संयोजक महतोले भेटेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । सहकारीबाट आफ्नै बचतको पैसा फिर्ता नपाउँदा रकम अभावका कारण उपचार नपाउँदा सहकारी पीडित काठमाडौँ शंखमूल बस्ने राजेन्द्र स्थापितको मृत्यू भएको थियो ।
आन्दोलनकारी तथा परिवारजनलाई भेट्न रत्नपार्क पुगेका महतोले मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । महतोले राज्य आफैँ ठगी धन्धामा लागेको र आम सर्वसाधारणले आफ्नो पैसा समेत फिर्ता नपाएर मृत्यूवरण गर्नु दुःखद रहेको बताए । उनले राज्य बहिरो रहेकोले जनतासँग कुनै मतलब नराखी दलाल, ठग तथा माफियाहरु पाल्नमै व्यस्ता रहेको बताए ।
आफूहरुको एउटा मुद्दा सहकारी पीडितलाई न्याय दिनुपर्ने समेत रहेको स्मरण गराउदै महतोले आन्दोलनमा आफुहरुको समेत साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
Discussion about this post