श्रावण ८ गते । सिरहामा छिमेकीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको अर्नमा गाउँपालिका-२ ब्रह्मपुरीका ५२ वर्षीय बच्चु भन्ने बचाइ महतो रहेका छन् ।
बच्चुले गत जेठ ३ गते बिहान ब्रह्मपुरीस्थित खेतमा सोही ठाउँका ५३ वर्षीय बुधराम महतोलाई कोदालोले हानेर हत्या गरेको आरोप छ । ट्याक्टर लिएर खेतमा पुगेका बुधरामलाई बचाइले कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीका अनुसार लामो समयदेखि जग्गाको विषयलाई लिएर बुधराम र बचाइबीच विवाद थियो ।
घटनालगत्तै फरार भएका बचाइलाई खोजतलासको क्रममा सिरहाको औरही गाउँपालिका-१ दरहैयास्थित नेपाल-भारतको सीमा क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको डीएसपी सापकोटाले बताए ।
बचाइमाथि कर्तव्य ज्यान मुद्दामा ३ को म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता मुक्तिनाथ सापकोटाले जनाएको छ ।
Discussion about this post