काठमाडौँ/जेठ १५ गते। १७ औँ गण्तन्त्र दिवस मनाइँदै छ। नेपाली जनताको संघर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिले कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ। देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाइन्छ। यस वर्षको जेठ १४, १५ र १६ गते ३ दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरुमा दीपावलीलगायत कार्यक्रमहरु गर्ने निर्णय भएको छ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र ७ राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए। त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो।
सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरुपमा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति’ गठन गरेको छ। जेठ १ गते सिंहदरबारमा प्रधानमन्त्री दाहालको अध्यक्षतामा बसेको बैठकले सो समिति गठन गरेको थियो। समितिको सदस्यमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत रहेका छन्।
Discussion about this post