सिरहा/जेठ ६ गते। अख्तियारको कर्मचारी हुँ भन्दै विद्यालयहरुमा गएर शिक्षक कर्मचारीलाई विभिन्न त्रास देखाएर धम्क्याउने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। फरक–फरक नाम र ठेगाना बताउने उनलाई प्रहरीले गोलबजार नगरपालिका ३ स्थित आधारधुत विद्यालय जरुवाबाट आन विहान पक्राउ गरेको हो।
कहिले रामध्यानि त कहिले रामपुकार यादव र ठेगाना पनि कहिले विष्णुपुर त कहिले लहान बताउने ती व्यक्तिले अख्तियारको कर्मचारी हुँ भन्दै शिक्षकहरुसँग कागजपत्र माँग्ने, कक्षा कोठामा गएर बस्ने, नयाँ वनेका भवनहरुको विवरण माँग गर्ने गरेको सूचनाहरु आईरहेको बेला आज नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुनिल कार्कीले जानकारी दिए।
इन्सपेक्टर कार्कीले विभिन्न विद्यालयबाट यस्ता सूचनाहरु आईरहेका भएपनि आज शिक्षकहरुको सहयोगमा नियन्त्रणमा लिन सफल भएको बताए। नियन्त्रणमा लिएपनि उनको व्यक्तिगत विवरण खुल्ने कुनै कागजात फेला नपरेकाले यकिन गर्ने कार्य भईरहेको बताए। इन्सपेक्टर कार्कीले भने, ‘उनले अझैपनि विभिन्न नाम र ठेगाना बताईरहेका छन्, हामी उनीको व्यक्तिगत विवरण खोज्दै छैं। चाँडै सवै विषय सार्वजनिक हुन्छ।’
पक्राउ परेका व्यक्तिले विद्यालयमा गएर आफू अख्तियारको कर्मचारी भएको र तपाईहरुको समस्या मिलाईदिने भन्दै ‘बार्गेनिङ्ग’ समेत गरेको एक विद्यालयको प्रधानाध्यापकले बताए। उनी केहि दिनदेखि गोलबजार, मिर्चैया, सुखिपुर लगायत क्षेत्रका विद्यालयहरुमा पुग्ने गरेको बताइन्छ।
Discussion about this post