जेठ ४ गते। भारतको कश्मीर पु¥याएर बन्धक बनाइएका मजदुर बिहीबार नेपाल आइपुगेका छन् । सर्लाही, महोत्तरी र धनुषाका ३५ जना मजदुर बिहीबार बिहान सर्लाहीको मलङ्गवा नाका हुँदै नेपाल आइपुगेका छन् । उनीहरूलाई मङ्गलबार दिल्लीस्थित नेपाली राजदूतावास र सामाजिक संस्था किन इन्डियाको समन्वयमा उद्धार गरिएको थियो । कानुनी प्रक्रिया पूरा गरी सबैलाई बिहीबार नेपाल ल्याइएको छ ।
उद्धार गरिएका ३५ मध्ये १२ जना सर्लाहीको ईश्वरपुर नगरपालिकाका युवा रहेका नगरप्रमुख मनोजकुमार आचार्यले जानकारी दिए । १२ जना मुसहर (माझी) समुदायका छन् । आफ्नो नगरभित्रका १२ जनासहित धनुषा र महोत्तरीका समेत गरी ३५ जनालाई नगरप्रमुख आचार्यले मलङ्गवा नाकामै पुगेर स्वागत गरेका थिए । तीन वटै जिल्लाका मजदुरलाई बिहीबार दिउँसो ईश्वरपुर नगरपालिकाले कार्यालयमा ल्याएर सम्मानसहित आ–आफ्नो घर पठाएको नगरप्रमुख आचार्यले जानकारी दिए । ईश्वरपुर नगरपालिकाले मजदुरलाई उद्धार गरी ल्याउने कार्यमा अहम् भूमिका निर्वाह गरेको भन्दै किन इण्डियाका निर्देशक नवीन जोशी, किन इन्डियाका कन्सुलर सृष्टि विष्ट र लक्ष्मी विष्ट र सामाजिक अभियन्ता सरोज रायलाई सम्मान पत्रसहित सम्मान गरेको छ ।
मजदुरीका लागि भनी भारतको कश्मीर पु¥याइएका मजदुर करिब तीन महिनादेखि बन्धक बनेका थिए । काम लगाइदिने भन्दै कश्मीर पु¥याएका पछि आफूहरूमाथि कुटपिट गरी तलब नदिई डर, धम्की देखाएर बन्धक बनाएर काममा लगाएको उद्धार गरिएका युवाले बताएका छन् ।
Discussion about this post