जेठ १ गते । वीरगन्ज महानगरपालिकाले ‘कक्षा कोठामा मेयर’ कार्यक्रमको शुभारम्भ गरेको छ। सोमबार वीरगन्ज महानगरपालिका–४ विर्तामा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयमा पुगेर मेयर राजेशमान सिंहले उक्त कार्यक्रमको सुरुवात गरेका हुन्।
विद्यार्थीहरूलाई उत्प्रेरणा बढाउन मेयर सिंहले हप्ताको एक दिन विभिन्न विद्यालयमा पुगेर ‘कक्षा कोठामा मेयर’ कार्यक्रममार्फत एउटा कक्षा लिन सुरु गरेका हुन्। पहिलो दिन सोमबार त्रिजुद्ध माविमा पुगेका मेयर सिंहले कक्षा कोठामै गएर विद्यार्थीहरूलाई उत्प्रेरणा बढाउन मोटिभेसनल कक्षा लिँदै अध्ययनलाई मुख्य केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए। आफ्ना अग्रजको योगदानको सम्मान गर्दै शिक्षा प्रदान गर्ने गुरुहरूको सम्मानमा कमी नल्याउन उनले विद्यार्थीहरूसँग आग्रह गरे। 

यसै शैक्षिक सत्रबाट विद्यालयमा डिजिटल कक्षा समेत सञ्चालन गरेको महानगरले त्यसको उपयोगिता र प्रभावकारिताका विषयमा समेत मेयर सिंहले अवलोकन गरे। महानगरपालिकाले यसै शैक्षिक सत्रबाट महानगरका विभिन्न ३० वटा विद्यालयमा नेपाली भाषा सिकाइका लागि डिजिटल कक्षा समेत सञ्चालन गरेको छ। मेयर सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरूलाई उत्प्रेरणा दिँदा विद्यार्थीलाई अध्ययनका लागि झनै हौसला मिलेको त्रिजुद्ध माविका प्रधानाध्यापक नविन मिश्रले बताए। सोमबार त्रिजुद्ध माविको कक्षा कोठामा मेयर सिंहसँगै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई र शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीहरूको हौसला बढाउन कक्षा लिए।
मेयर सिंहले विद्यालयको अनुगमन समेत गर्दै त्यहाँ उपलब्ध साधन स्रोतको स्थिति तथा प्रयोगको अवस्थाका बारेमा जानकारी लिए। यस्तै कक्षा पाँचका विद्यार्थीलाई मेयर सिंहले पुस्तक हस्तान्तरण गरे।
Discussion about this post