गोपाल बराल/फागुन ३० गते। नेपाल भारतबीच साँस्कृतिक आदानप्रदानका कैयौं अवसर छन् । यसमध्ये मङ्सिर शुक्लपक्षको पञ्चमी तिथिमा मनाइने रामजानकी विवाह महोत्सव र फागुन शुक्लपक्षको मिथिला माध्यमिकी परिक्रमा मुख्य छन् । यी दुबै साँस्कृतिक उत्सवमा नेपाल र भारतका साधुसन्तदेखि घरगृहस्थीका सर्वसाधारणसम्म एकाकार हुन्छन् ।
दुबै अवसर श्री राम तथा श्री जानकीसँग अन्तरसम्बन्धित छन् । रामजानकी विवाह महोत्सव राम सीताको विवाह भएको सम्झना र मिथिला माध्यमिकी परिक्रमा श्री राम जानकीले विवाहपश्चात विहार गर्ने क्रममा घुमफिर गर्नुभएका पदचापको अनुशरण । प्राचीन मिथिला (विदेह) राज्यको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा राखेर वृतमा परिक्रमा गरिने मध्यमा परिक्रमाको लस्कर आज मङ्गलबार यात्राको तेस्रो दिन भारतको मधुवनी जिल्लामा पर्ने फुलहर (गिरिजास्थान) मा बास बस्दैछ ।
सबैका वाणि (बोली) मा सीयाराम नाम सङ्कीर्तन । पिठ्यूँमा सामल खाजा र फेरफार लुगाको पोको । सबै यात्रामा निमग्न । खाली खुट्टाको यात्रा । सबैको एउटै कामना , मोक्ष र कल्याण । वास्तवमै मिथिला माध्यमिकी यात्रा अलौकिक रहेको यसपालिसहित सातौं पटक यात्रामा सरिक भारतको सीतामढी जिल्लाको हनुमाननगरका सन्त ७० वर्षीय हनुमानशरण दास बताउनुहुन्छ ।
“देखतो हो, मैं शरीर से जीणर् हो गया हुँ, १५ दिन का नंगे पावका पैदल यात्रा ताकत से नहीं, आन्तरिक उर्जा से ही सम्भव है” (हेर्नुहुन्छ, म शरीरले जीणर् छु, १५ दिनसम्मको खाली खुट्टाले गरिने पैदल यात्रा ताकतले हैन, आन्तरिक उर्जाले मात्र सम्भव छ ) दास भन्नुहुन्छ, “ए अलौकिक यात्रा है ,प्रभु की इच्छा से जुडी है, जितने सहभागी है, १५ दिन के लिए फकिर याने यायावर हैं” ( यो अलौकिक यात्रा हो, भगवत कृपाले जोडिएको छ, जति सहभागी छन् , सबै १५ दिनका लागि सांसारिक मायामोह त्यजेर फकिर (जोगीजस्तै) बनेका यायावर) । यो यात्राले नेपाल भारतका साँस्कृतिक सम्बन्ध सधैं जोडी राख्ने काम गरेको दासको भनाइ छ ।
यात्रामा नेपाली र भारतीय सराबरी छन् । को कहाँको सोध्न पर्गेल्न कसैलाई मतलव छैन । बस् , सबैको मन राम सीतामा समर्पण । उहाँहरुका पदचिन्ह (पदचाप) को अनुशरण । मिथिलामा विवाहपश्चात जन्ती घर फर्कने र दुलहा ससुराली घरमै बस्ने चलन छ । (यो चलन अद्यावधि मैथिल व्राह्मणमा कायम छ) । यसअनुसार राजा दशरथ जन्ती लिएर अवध (अयोध्या) फर्के पनि श्री राम जनकपुरमै रहनु भएको र सीताजीका साथ विभिन्न तीर्थस्थलको भ्रमण र वनविहार गर्नु भएको प्रसङ्ग मिथिला माहात्म्यमा वणर्ित छ । मिथिला माध्यमिकी यात्रा श्री राम र सीताजीको त्यही विहारको अनुशरण रहेको जलेश्वर-५ का बासिन्दा मिथिला माहत्म्यका नेपाली अनुवादक प्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।
“यो यात्रा साधुसन्तले भनेजस्तै साँच्चै अलौकिक छ, अनि आनन्द र निस्फिक्रीको पनि”प्राध्यापक राय भन्नुहुन्छ, “यात्राको सवल पक्षमा नेपाल भारतका साँस्कृतिक सम्बन्धका कुरा छन् , यस यात्रामा नेपाल भारत दुबै देशका क्षेत्र र नागरिक सम्मिलित हुन्छन् , यो हाम्रो बहुआयामिक सम्बन्धको सेतु पनि हो ।”
फागुन औँसीदेखि सुरु भई शुक्लपक्षभरिका १५ दिनको यो यात्रामा १५ रात्री विश्रामको स्थापित परम्परा छ । जसमा नेपालतर्फ छ रात धनुषा, पाँच रात महोत्तरी र भारततर्फ चार रात बिताइने गरिन्छ । जनकपुरधामलाई केन्द्र (माझ) मा राखेर १३३ किलोमिटरको वृतमा गरिने यस यात्रामा दोस्रो, तेस्रो, १३ औं र १४ औं दिनको रात्रीबास भारतको मधुवनी जिल्लाका क्रमशः कल्याणेश्वर (कलना), फुलहर (गिरिजास्थान), करुणा र बिसौल पर्छन् ।
पहिलो दिन धनुषाको मिथिलाविहारी-८ ठेराकचुरीस्थित मिथिलाविहारी कुटी (मन्दिर) बाट मिथिलाविहारी (श्रीरामलाई मिथिलामा मिथिलाविहारी, अवधविहारी र अवधलाल भनिन्छ) को प्रतिमा राखिएको डोला (डोली) अघि लगाई १५ दिने यात्रा सुरु हुन्छ । यात्रा जनकपुरधामस्थित अग्निकुण्ड पुगेपछि श्री किशोरीजी (मिथिलामा सीताजीलाई किशोरीजी, मिथिला, जानकी र जनकनन्दिनी भनिन्छ) को डोला मिसिन्छ । यसरी दुबै डोला अघि लगाई जनकपुरस्थित मठमन्दिरको दर्शन र पवित्र तलाउ गङ्गासागर, धनुष सागरआदि) को पवित्र जलले आपूmलाई सेचन गर्दै यात्रु पहिलो दिनको विश्रामका लागि धनुषाको हनुमानगढी पुग्छन् ।
यसैगरी दोस्रो दिन भारतको कलना, तेस्रो दिन भारतकै फुलहर यात्रापछि मानव लस्कर चौथो दिन महोत्तरीको मटिहानी पुग्छ । यसपछि क्रमशः पाँचौ, छैठौं, सातौं र आठौ दिन क्रमशः महोत्तरीकै जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवनको यात्रा पुरा गरी यात्रा फेरि धनुषा जिल्ला प्रवेश गर्छ । यसैगरी नवौं दिन पर्वता, १० औं दिन धनुषाधाम, ११ औं दिन सतोषरधाम र १२ औं दिन औरहीको बास सकेर यात्रीटोली फेरि भारत प्रवेश गर्छ । यसक्रममा १३ औं दिन करुणा र १४ औं दिन बिसौलपछि दोस्रो दिनको ठाउँ कलना पुगिन्छ । यसरी १५ औं दिन बिहान कलना पुगेपछि एउटा वृतको यात्रा पुरा हुन्छ । यद्यपि कलनाबाट जनकपुरको रङ्गभूमि मैदान आएर १५ औं दिनको रात्रीबास सकेर १६ औं दिन बिहान जनकपुरधामको पञ्चकोशी अन्तर्गृह परिक्रमा गरेपछि माध्यमिकी यात्रा पुरा भएको मानिन्छ ।
यात्राको क्रममा आठौं दिन कञ्चनवनमा रामसीताले फागु खेलेका सम्झनामा होरी उत्सव मनाइन्छ । यससँगै मिथिलामा रङ् अबिरको पर्व फागु विधिवत सुरु भएको ठानिन्छ । यसैगरी १५ औं दिन मध्यराती जनकपुरधाममा राक्षसी प्रवृतिकी होलिकाको आकृति जलाइने चलन छ । यसलाई ‘होलिका दहन’ भनिन्छ । अनि १६ औं दिन अन्तर्गृह परिक्रमाकै क्रममा ठाउँठाउँमा होलिका दहन गरेको खरानी उडाउँदै यात्री फागु (होली, होरी) पर्वमा मग्न हुन्छन् । खरानी उडाउने यो उत्सवलाई मिथिलामा ‘धुरा उडाबे’ भनिन्छ । जनकपुरक्षेत्रमा यसरी धुरा उडाएको भोलिपल्ट फागु पर्व मनाउने परम्परा छ ।
मिथिला माध्यमिकी परिक्रमा र यसको समापनसँगै रामायणकालीन कथा र सत्ययुगको राजा हिरण्यकशिपुले विष्णुभक्त छोरा प्रहलादलाई अनेकानेक कष्ट दिएको र अन्त्यमा हिरण्यकशिपु र उनकी बहिनी होलिकाको अन्त्य भई भक्त प्रहलादको रक्षा भएको कथासमेत मिसिएको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् ।
“सन्दर्भ श्रीराम, सीता र भक्त प्रहलादसँग जोडिएको छ, सन्देश एउटै सदाचार र सत्मार्गमा लाग्न प्रेरित गर्ने हो” मुलुककै प्रसिद्ध साहित्यकार डा. राजेन्द्रप्रसाद विमल भन्नुहुन्छ, “मिथिला संस्कृति र परम्परा अनुपम छ, विश्व भाइचारा, आपसी सद्भाव, स्नेह र सहिष्णुता यसका अवयव हुन् ।” मिथिला माध्यमिकी परिक्रमाले नेपाल भारतमा राज्यस्तरका कहिलेकाहीं देखिने, सुनिने मनमुटाव र दुबै सरकारबीचका दुरी जनसम्बन्धले मेटिने डा. विमल बताउनुहुन्छ । त्यसैले श्रीराम/ सीता, मिथिला/अवध , रामजानकी विवाह महोत्सव र मिथिला माध्यमिकी परिक्रमा नेपाल भारत साँस्कृतिकमात्र नभएर प्रगाढ सम्बन्धका सेतु रहेका डा. विमलको मत छ ।
Discussion about this post