सिराहा/बैशाख १४ गते । सिराहा सदरमुकाममा डोजर प्रयोग गरी अढाई किलोमिटर सडक क्षेत्र खाली गराइएको छ । सहिद राजेश ठाकुर पार्कछेउको जिल्ला प्रहरी कार्यालयको पर्खाल भत्काएर सुरु भएको अभियान सिराहा नगरपालिका २ गोरियारीसम्म पुगेको छ ।
सिराहा नगरपालिकाका मेयर डा नवीन कुमार यादवको नेतृत्वमा खटिएको टोलीले मंगलबार र बुधबार गरी दुई दिन इमलीचोकबाट सडक क्षेत्र खाली गराउने अभियान थालेका थिए ।
इमली चौक, पिपल चौक, महावीर चौक, राम जानकी चौक हुँदै गोरियारीसम्म ३० मिटर चौडाइको सडक क्षेत्रमा पर्ने घर टहरा भत्काउने काम सम्पन्न भएको छ । एक स्काभेटर र पाँच वटा जेसिवी परिचालन गरी सडक क्षेत्रभित्रका भवनहरु भत्काउने काम जारी रहेको मेयर डा यादवले बताए ।
यसअघि नै थालिएको सडक क्षेत्र फराकिलो गर्ने प्रयासमा अवरोध गरिए पनि अहिले फराकिलो गर्ने कार्य कार्यान्वयनमा आएको बताएका छन् । अवरोध, वाधा पन्छाउँदै सडक क्षेत्र फराकिलो भइरहेको भन्दै मेयर डा यादवले सिराहा नगरपालिकाका मतदाताले दिएको जिम्मेवारी र रोकिएको विकासको बाधाहरूलाई पन्छाउने कामको थालनी गरेको बताएका छन् ।
नगरको मापदण्ड अनुसार कायम भएको सडक क्षेत्र अतिक्रमित जहाँ जहाँ भए पनि सिराहा नगरपालिकाको २२ वटै वडामा अभियानले निरन्तरता पाउने मेयर डा यादवले बताए । विकासको मूल फुटाउने काम भएकोले यसमा कसैले अवरोध नगरी सहयोग गर्नुपर्ने मेयर डा यादवले बताए । आफ्नो मूल उद्देश्य हराभरा र सुन्दर सिराहा भएकोले त्यही अनुसार सदरमुकामको मुख्य सडक क्षेत्र खाली गराउने काम भइरहेको उनले बताए ।
सडक विस्तारले अवरोध पुगेको विद्युत्, इन्टरनेट सेवा र प्रादेशिक अस्पताल सिराहको डायालासिस सहितका सेवालाई निरन्तरता दिन सम्बन्धित निकायलाई निर्देशन दिई सकिएको भन्दै मेयर डा यादवले तत्काललाई अवरोध पन्छाउँदै सेवा सुचारुमा ध्यान दिनुपर्ने बताए । सडक फराकिलो क्रममा तत्काललाई हुने असरहरुलाई आफूले गम्भीर रूपमा लिएको र अभियानलाई सफल बनाउन नगरवासीलाई वर्तमान परिस्थिति बुझिदिन उनले आग्रह गरेका छन् ।स्रोत-रातोपाटि बाट

















Discussion about this post