महोत्तरी/असोज १३ गते ।सन्तानको सौर्य वृद्धि, सुस्वास्थ्य, दीर्घजीवन र कल्याणको कामनासहित सन्तानवती आमाले जितिया पर्व आज साँझ समापन गरेका छन् ।
पितृपक्ष (असोज कृष्णपक्ष) को लाग्दो अष्टमीसँगै एक अहोरात्र निर्जला व्रत गरिने जितिया आज नवमी तिथि प्रारम्भ भएपछि एक घडी कटाएर साँझ ५ बजे व्रतालु आमाले सम्पन्न गरेका हुन् ।
यसअघि सोमबार पवित्र स्नान गरेर चोखोनितो खाई व्रत सङ्कल्प गरेका सन्तानवती आमाले मङ्गलबार बिहान सूर्योदय हुन चार घडीपूर्व ‘ओगटन’ (दर) खाएर निराहार व्रत शुरु गरेका थिए ।
अष्टमीको एक अहोरात्र र नवमी तिथि एक घडी कटाएर मात्र समापन गर्न सकिने व्रत विधानले व्रतालुको यसपालिको व्रत ३६ घण्टाभन्दा बढी भएको छ । देवदूत जितवाहनको आरधना गरिने यो व्रतको प्रभावले सन्तान सुयोग्य, दीर्घजीवी, स्वस्थ्य र कर्तव्यपरायण हुने मैथिल जनविश्वास छ ।
पितृपक्षको अष्टमी तिथिको भोग रहने पूर्वरातमा ‘ओगटन’ ९दर० खाएर अष्टमी तिथिको व्रत शुरु गरिन्छ । यस्तो ‘ओगटन’ अष्टमी लाग्ने दिनको सूर्योदय हुन चार घडिपूर्व खाइसक्नु पर्ने व्रत परम्परा रहेको मिथिलानी ९मिथिलाका नारी० बताउँछन् । ‘ओगटन’ मा दहीचिउरा खाने मैथिल परम्परा छ ।
सन्तानको सौर्यवृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी मिथिलामा केही दिन पहिले नै सुरु हुने गर्छ । यस पर्वमा निराहार व्रत सुरु गरिएपछि समापन नगरियुञ्जेल थुक निल्नु, अञ्जानमै पनि किरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँँडिनु नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको रहेको मिथिला परम्परा र कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित ९प० महेशकुमार झा बताउनुहुन्छ ।
“सन्तानको दीर्घजीवन, सौर्यवृद्धि र कल्याणको कामना गर्दै आमाले गर्ने जितिया व्रतको प्रभावले नै सामाजिक इज्जत, प्रतिष्ठा र जागर प्राप्त हुने वा भएको मैथिल हिन्दू जनविश्वास छ”, कर्मकाण्डका ज्ञाता झाले भन्नुभयो, “कुनै मानिस लुरे, डरछेरुवा वा हुतिहारा देखिए यसका लागि आमाले जितिया व्रत गरिनछन् भन्ने टिप्पणी जोसुकैले गर्ने गर्छन् ।” मिथिलामा व्रतबारे गरिने यस्ता टिप्पणीले नै यसको महत्तो बुझ्न सकिने झाको थप भनाइ छ ।
सन्तानको कल्याण र सौर्य वृद्धिको कामना पूरा गराउन सन्तानवती मिथिलानीले यस पर्वमा दिवङ्गत पितृ रिझाउन तर्पण गर्ने गर्छन् । यस व्रतमा पुरुषले पितृपक्षमा दिवङ्गत आफन्तलाई तर्पण दिएजस्तै आफूहरुले पनि दिवङ्गत आफन्त महिलालाई तर्पण दिने परम्परा रहेको पछिल्ला २० वर्षदेखि जितिया व्रत बस्दै आएकी महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–९ पशुपतिनगरकी ५५ वर्षीया दिपियादेवी महतो बताउनुहुन्छ ।
पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्रत सङ्कल्प गरिन्छ । व्रतालुुले दिवङ्गत सासू, जेठानी, बूढीसासु, नन्द, आमाजु र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्घ’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितको भनाइ छ । सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र-पौत्री (नातिरनातिनी), प्रपौत्ररप्रपौत्री (पनाति-पनातिनी) र उनका सन्तानको कल्याण गर, उनीहरुलाई दीर्घजीवी बन्ने आशिर्वाद देउ’ भन्ने कामना गरिन्छ ।रासस














Discussion about this post