महोत्तरी,चैत १८ गते।महोत्तरीको भंगहा नगरपालिका–८, धरमपुरमा मंगलबार घाँस काट्न जाँदा हराएका ७ जना किशोरीहरु फेला परेका छन्।भंगहा नगरपालिकाका मेयर सञ्जीव साहका अनुसार उनीहरू भारतको सीतामढीमा फेला परेका हुन्। अहिले उनीहरूलाई त्यहाँको रेलवे-स्टेसनबाट घरतर्फ ल्याइँदै गरिएको उनले जानकारी दिए।
मंगलबार दिउँसो घाँस काट्न गएका बेला सम्पर्कविहीन बनेका स्थानीय ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान भारतमा भेटिएका हुन्।
सीतामढी प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरिएको हो।सीतामढी प्रहरीका अनुसार ती बालिका/किशोरीले आफूहरू गायिका बन्न आएको बताएका छन्। साथमा अन्य कोही नभेटिएकाले उनीहरूलाई बेच्न लगिएको भन्न नसकिने सीतामढी प्रहरीको तर्क छ।तर घटनाबारे अनुसन्धान गरेर नेपाल प्रहरी तथा सम्बन्धित परिवारलाई उनीहरू जिम्मा लगाउने प्रक्रिया चलिरहेको भारतीय प्रहरीले जनाएको छ।














Discussion about this post