विनय यादव/सिरहा,चैत ८ गते।सिरहामा एक युवकको बीभत्स हत्या भएको छ । मिर्चैया नगरपालिका- ७ घर भएका अन्दाजी २८ वर्षीय शिवकुमार यादवको बीभत्स हत्या भएको हो । प्रहरीका अनुसार मृतक शिवकुमार शनिबार साँझ साढे ८ बजे घरबाट निस्किएका थिए । तर, आइतबार बिहान भने उनको शव बीभत्स तरिकाले हत्या भएको अवस्थामा भेटिएको छ ।
टाउको र शरीर रक्ताम्य भएको अवस्थामा यादवको शव मिर्चैया- १ स्थित पूर्वपश्चिम राजमार्गछेउकै आँप बगैँचामा कङ्क्रिटले छोपिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यादवको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको देखिएको छ । उनको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट छ ।
मृतकको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले जनाए ।
बीभत्स अवस्थामा शव फेला परेको तर थप कुरा पोस्टमार्टमपछि मात्रै भन्न सकिने सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए । प्रहरीले तालिम प्राप्त कुकुर मगाएर घटनास्थलआसपासमा खोजबिन सुरु गरेको छ ।
मृतक यादव यहीँ रहको सौर्य सिमेन्ट उद्योगमा कार्यरत थिए । दुई वर्षअघि मात्रै बिहे भएका उनको ३ महिनाकी एक छोरी छन् ।














Discussion about this post