जनकपुरधाम/कार्तिक ६ गते । धनुषामा सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हातहतियार प्रदर्शन गर्दै नृत्य गरेको भिडियो फेसबुकमा अपलोड गर्ने एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा धनुषाको नगराइन नगरपालिका–६ निवासी अन्दाजी २६ वर्षीया नजिमा खातुन रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार खातुनले सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हातहतियार प्रदर्शन गर्दै नृत्य गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेकी थिइन्।
उक्त गतिविधिले समाजमा हिंसा र त्रास फैलाउन उत्प्रेरित गर्न सक्ने देखिएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार खातुनलाई कात्तिक ४ गते राति करिब ९ः३० बजे धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकी खातुनलाई इलाका प्रहरी कार्यालय सबैलामा राखेर प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
















Discussion about this post