जनकपुरधाम/कार्तिक ३ गते। श्रीहरि मानव कल्याण मञ्चद्वारा आयोजित हाजिरीजवाफ प्रतियोगितामा समूह ‘डी’ प्रथम भएको छ। रोमाञ्चक प्रतिस्पर्धाका बीच समूह ‘ई’ द्वितीय र समूह ‘सी’ तृतीय भएका छन्।
विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि, अध्ययनप्रतिको रुचि बढाउने तथा प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित प्रतियोगिता जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री महारानी माताको प्राङ्गणमा सम्पन्न भएको हो। प्रतियोगितामा पाँचवटा समूहका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
कुल ५० वटा प्रश्न समावेश गरिएको प्रतियोगिताको पहिलो चरणमा समूह ‘डी’ ले आठ अंक प्राप्त गर्दै अग्रस्थान हासिल गरेको थियो। समूह ‘ई’ र समूह ‘सी’ ले समान सात–सात अंक प्राप्त गरेपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लगाउन टाइब्रेकर प्रतिस्पर्धा गराइएको थियो।
टाइब्रेकरमा थप दुईवटा प्रश्न सोधिएकोमा समूह ‘ई’ ले एक अंक प्राप्त गर्दै द्वितीय स्थान सुरक्षित गरेको थियो भने समूह ‘सी’ तृतीय भएको थियो। त्यसैगरी, समूह ‘बी’ ले चार अंक प्राप्त गरेको आयोजकले जनाएको छ। सहभागी विद्यार्थीहरूको उत्साह र मनोबल बढाउन सान्त्वना पुरस्कारसमेत प्रदान गरिएको थियो।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूह ‘डी’ को नेतृत्व सिद्धार्थ सहनीले गरेका थिए। त्यस्तै, द्वितीय भएको समूह ‘ई’ को नेतृत्व सन्देश सहनी र तृतीय भएको समूह ‘सी’ को नेतृत्व प्रिन्स कुमार मण्डलले गरेका थिए।
प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो। प्रथम हुने समूहलाई पाँच हजार पाँच रुपैयाँ, द्वितीय हुने समूहलाई तीन हजार पाँच सय रुपैयाँ र तृतीय हुने समूहलाई दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिएको थियो। सान्त्वना पुरस्कारस्वरूप एक हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा मञ्चका अध्यक्ष तथा युवा पत्रकार दिपक श्रेष्ठ मण्डलले विद्यार्थीहरूको बौद्धिक विकास, अध्ययनप्रतिको रुचि अभिवृद्धि र प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले मञ्चले प्रत्येक वर्ष नियमित रूपमा यस्ता रचनात्मक कार्यक्रम आयोजना गर्दै आएको बताए।
उनले पाठ्यपुस्तकमा आधारित ज्ञानसँगै समसामयिक विषयप्रतिको चासो, तार्किक क्षमता र सामूहिक रूपमा काम गर्ने बानी विद्यार्थीहरूमा विकास गर्न आवश्यक रहेको उल्लेख गरे। यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै भविष्यमा जिम्मेवार र सक्षम नागरिक बन्न प्रेरित गर्ने विश्वाससमेत उनले व्यक्त गरे।
यसैबीच, कार्यक्रममा स्थानीय समाजसेवी जयशंकर राउतलाई समाजसेवाका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै मञ्चका अध्यक्ष मण्डलले सम्मान गरेका थिए। समाजमा सकारात्मक योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै सामाजिक सेवाप्रति थप प्रेरणा जगाउने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको मञ्चले जनाएको छ।
शिक्षा, सामाजिक सेवा र मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै आएको श्रीहरि मानव कल्याण मञ्चले विद्यार्थीहरूको क्षमता विकास तथा सामाजिक उत्तरदायित्व अभिवृद्धिका लागि विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ। प्रतियोगिताले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, ज्ञानप्रतिको रुचि र सामूहिक सहभागिताको महत्व बढाउन सहयोग पुर्याएको आयोजकको विश्वास छ।
















Discussion about this post