जनकपुरधाम/कात्तिक ३ गते । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित सिताराम गौशाला परिवारले बडादशैँको महानवमीका अवसरमा कन्या भोजन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा करिब ८० जना कन्यालाई भोजन गराउनुका साथै दक्षिणा र उपहार प्रदान गरिएको छ।
सिताराम गौशालाका अध्यक्ष मनोज रुङटाका अनुसार महानवमीको धार्मिक परम्परालाई निरन्तरता दिँदै कन्या भोजन कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा कन्याहरूलाई श्रद्धापूर्वक भोजन गराएर दक्षिणा तथा उपहार प्रदान गरिएको उनले बताए।
कार्यक्रममा गौशालाका अध्यक्ष मनोज रुङटासहित कृष्ण दीक्षित, ऋषिकेष साह, रामबाबु गुप्ता तथा सिताराम गौशालाको कार्यसमिति परिवार र सदस्यहरूको उपस्थिति रहेको थियो।
हिन्दु धर्म र परम्परामा बडादशैँको नवौँ दिन अर्थात् महानवमीलाई माता दुर्गाको आराधना गर्ने विशेष दिनका रूपमा लिइन्छ। यस दिन देवी दुर्गाको नवौँ स्वरूप माता सिद्धिदात्रीको पूजा गरिन्छ। साथै, विभिन्न शक्तिपीठ तथा घरपरिवारमा विशेष पूजाआजा, हवन र धार्मिक अनुष्ठान गर्ने परम्परा छ।
महानवमीका अवसरमा साना कन्यालाई देवी दुर्गाको स्वरूप मानेर पूजा गर्ने, भोजन गराउने तथा दक्षिणा र उपहार दिने चलन रहेको छ। यसलाई कन्या पूजन वा कन्या भोजन भनिन्छ। धार्मिक मान्यताअनुसार कन्याहरूमा देवी शक्तिको प्रतीक देख्दै उनीहरूप्रति श्रद्धा, सम्मान र भक्तिभाव प्रकट गर्ने उद्देश्यले यो परम्परा मनाइन्छ।
कन्या भोजनले धार्मिक आस्थासँगै बालिकाप्रतिको सम्मान, सद्भाव र सामाजिक एकताको सन्देशसमेत दिने विश्वास गरिन्छ।
सिताराम गौशाला परिवारले आयोजना गरेको यस कार्यक्रमले जनकपुरधाममा बडादशैँको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिएको छ।

















Discussion about this post