धनुषा/असोज २ गते । धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
धनुषाधाम–सबैला भित्री सडकखण्डमा गएराति भएको दुर्घटनामा धनुषाधाम नगरपालिका–७ निवासी २० वर्षीय धिरज मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार सबैलाबाट धनुषाधामतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१ प ६४४९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना.६ ख ९०३१ नम्बरको बसले मखनाहामा ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मण्डललाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर, अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकलमा सवार १६ वर्षीय निरज मण्डल र लक्ष्मीनियाँ गाउँपालिका–२ निवासी २० वर्षीय राकेश मण्डल घाइते भएका छन्। घाइतेमध्ये निरजको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुवै जनाको जनकपुरधामस्थित योगी ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार दुर्घटनामा संलग्न बस र चालक धनुषाधाम नगरपालिका–२ निवासी २२ वर्षीय नागेन्द्र महरालाई नियन्त्रणमा लिइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















Discussion about this post