जनकपुरधाम/असोज ३० गते । मिथिलाको मौलिक लोकसंस्कृति, धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको झिझिया नृत्यको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आज शुक्रबार जनकपुरधाममा ‘जनकपुर झिझिया महोत्सव–२०८३’ आयोजना हुने भएको छ।
नव मिथिला फाउण्डेशनको आयोजनामा जनकपुरधामस्थित रेल्वे स्टेसनको प्राङ्गणमा साँझ ५ बजेदेखि महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ। विजयादशमीको अवसर पारेर आयोजना गर्न लागिएको महोत्सवमा विभिन्न झिझिया समूह, विद्यालय, सांस्कृतिक टोली तथा स्थानीय कलाकारहरूले आ–आफ्नो प्रस्तुति दिनेछन्।
महोत्सवमा कल्चर भिलेज झिझिया ग्रुप, विस्डम ट्री स्कुल, भोइल झिझिया ग्रुप, अप्पन मिथिला झिझिया समूह, मिथिला झिझिया समूह, जनकपुरियान युथ ब्यान्ड टिम, ललित कामत एन्ड टिम, नर्मदा स्कुल, युरेका इन्टरनेसनल स्कुल, जनकपुर पब्लिक स्कुल, अञ्जली साह तथा रंग दर्पणलगायतको सहभागिता रहने कार्यक्रम छ।
नव मिथिला फाउण्डेशनका अध्यक्ष अमित साहका अनुसार मिथिलाको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको झिझिया नृत्यको परम्परा जोगाउँदै यसको महत्त्व नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।
उनका अनुसार महोत्सवले स्थानीय कलाकार तथा सांस्कृतिक समूहलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै युवापुस्तामा मौलिक लोकसंस्कृतिप्रति आकर्षण र रुचि बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
झिझिया नृत्य मिथिलाको सांस्कृतिक पहिचान
झिझिया नृत्य मिथिलाञ्चलको धार्मिक आस्था, लोकविश्वास, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको परम्परागत लोकनृत्य हो। विशेषगरी दसैँ तथा दुर्गापूजाको समयमा प्रस्तुत गरिने यस नृत्यले मिथिलाको मौलिक जीवनशैली, लोकपरम्परा र सामुदायिक एकतालाई प्रतिबिम्बित गर्छ।
समयक्रमसँगै आधुनिक मनोरञ्जनका माध्यम र बदलिँदो जीवनशैलीको प्रभावले परम्परागत सांस्कृतिक अभ्यास ओझेलमा पर्ने जोखिम बढिरहेका बेला झिझियाजस्ता लोकपरम्पराको संरक्षण आवश्यक रहेको संस्कृतिप्रेमीहरूको धारणा छ।
यस्ता महोत्सवले परम्परागत कला र संस्कृतिको पुस्तान्तरणमा सहयोग पुर्याउनुका साथै स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने तथा मिथिलाको मौलिक पहिचानलाई व्यापक रूपमा परिचित गराउने अपेक्षा गरिएको छ।
महोत्सवमार्फत जनकपुरधामको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै सांस्कृतिक पर्यटनको विकासमा योगदान पुर्याउने लक्ष्यसमेत आयोजकले राखेको छ। विभिन्न समुदाय, उमेर समूह र सांस्कृतिक टोलीको सहभागिताले आपसी सद्भाव, सहकार्य र एकताको भावना अभिवृद्धि गर्ने विश्वास गरिएको छ।
नव मिथिला फाउण्डेशनले महोत्सवमा सहभागी भई मिथिलाको मौलिक लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्याउन संस्कृतिप्रेमी, विद्यार्थी, युवा, अभिभावक, बुद्धिजीवी तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
आयोजकका अनुसार महोत्सवमा प्रवेश निःशुल्क रहनेछ।
















Discussion about this post