जनकपुरधाम/असोज २६ गते। कर्तव्य ज्यान मुद्दामा निलम्बनमा रहेका मधेश प्रदेशसभा सदस्य अभिराम शर्माको निलम्बन फुकुवा भएको छ। मधेश प्रदेशसभा सचिवालयले सोमबार सूचना जारी गर्दै शर्माको निलम्बन फुकुवा गरिएको जनाएको हो।
प्रदेशसभा सचिवालयका सचिव बासुप्रसाद कोइरालाद्वारा जारी सूचनाअनुसार सभामुख रामअशिष यादवले २०८३ साल असोज २६ गतेदेखि लागू हुने गरी शर्माको निलम्बन फुकुवा गरेका हुन्।
नेपाल सरकार वादी र अभिराम शर्मासमेत प्रतिवादी रहेको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले शर्मालाई २०८३ साल मंसिर २३ गतेका लागि साधारण तारेख तोकेको सूचनामा उल्लेख छ।
शर्माले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ को उपदफा (२) बमोजिम प्राप्त सुविधाका आधारमा सर्वोच्च अदालतमा पुनरावेदन पत्र दर्ता गराएका थिए।
सोही पुनरावेदनका क्रममा सर्वोच्च अदालतबाट साधारण तारेख तोकिएको विषयलाई आधार मानी मधेश प्रदेशसभा नियमावली, २०८२ को नियम २१९ को उपनियम (५) बमोजिम शर्माको निलम्बन फुकुवा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
निलम्बन फुकुवासँगै शर्मा प्रदेशसभा सदस्यका रूपमा कायम रहने बाटो खुलेको छ। यद्यपि, निलम्बन फुकुवा हुनु कर्तव्य ज्यान मुद्दामा अन्तिम न्यायिक फैसला भएको अर्थ भने होइन।
















Discussion about this post