जनकपुरधाम/असोज २५ गते। अन्तर्राष्ट्रिय ब्रान्ड याडियाका विद्युतीय स्कुटर तथा मोटरसाइकलको आधिकारिक शोरूम जनकपुरधाममा सञ्चालनमा आएको छ। जनकपुरधामको थापा चोकमा नारायणी इलेक्ट्रिक ग्रीन अटो इन्डस्ट्रिजले याडिया ब्रान्डका विद्युतीय सवारीसाधन बिक्री गर्ने उद्देश्यले शोरूम सञ्चालनमा ल्याएको हो।
नवनिर्मित शोरूमको उद्घाटन मधेश प्रदेशसभाका सभामुख रामआशिष यादव र जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रूपमा गरेका हुन्।
शोरूम उद्घाटन कार्यक्रममा सभामुख यादवले पछिल्लो समय मौद्रिक नीतिका कारण स्वदेशमै लगानी गर्ने वातावरण विस्तार हुँदै गएको बताए। नयाँ लगानीले आर्थिक गतिविधि बढाउनुका साथै अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे।
शोरूममा याडिया ब्रान्डका विभिन्न मोडलका विद्युतीय स्कुटर तथा मोटरसाइकल उपलब्ध छन्। कम्पनीका अनुसार यहाँ उपलब्ध सवारीसाधनको मूल्य २ लाख ५ हजार रुपैयाँदेखि ६ लाख ६० हजार रुपैयाँसम्म रहेको छ। ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार विभिन्न मोडलका सवारीसाधन छनोट गर्न सक्नेछन्।
शोरूमकी सञ्चालिका सुमन नेवटियाले विद्युतीय सवारीसाधनप्रति ग्राहकको आकर्षण बढ्दै गएकाले यस क्षेत्रमा लगानी गरिएको बताइन्। वातावरणमैत्री सवारीसाधन प्रतिको बढ्दो रुचिलाई ध्यानमा राख्दै याडियाका विभिन्न मोडल उपलब्ध गराइएको उनले जानकारी दिइन्।
उनका अनुसार शोरूममा याडियाका जीएस ७०, जीटी ७०, जीटी ८०, किनिज र भेलक्सलगायतका मोडलका विद्युतीय स्कुटर तथा मोटरसाइकल उपलब्ध छन्। सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि फाइनान्स सुविधासमेत उपलब्ध रहेको उनले बताइन्।
याडिया ब्रान्डका विद्युतीय स्कुटर तथा मोटरसाइकलमा लिथियम आइरन फस्फेट (LFP) ब्याट्री प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ। विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको अवस्थामा शोरूम सञ्चालनले जनकपुरधाम तथा आसपासका क्षेत्रका ग्राहकलाई विभिन्न मोडलका सवारीसाधन छनोट गर्न सहज हुने अपेक्षा गरिएको छ।
नयाँ शोरूम सञ्चालनमा आएसँगै जनकपुरधाममा विद्युतीय सवारीसाधनको बिक्री तथा बजार विस्तारमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।
















Discussion about this post