जनकपुरधाम/भदौ ४ गते। मधेश प्रदेश सरकारले स्वास्थ्य सेवातर्फ नवौँदेखि एघारौँ तहसम्मका १४ जना कर्मचारीलाई काजबाट फिर्ता गरी दरबन्दी कायम रहेको कार्यालयमै कामकाज गर्न पठाउने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार गरेको निर्णयअनुसार लामो समयदेखि दरबन्दीभन्दा अन्य कार्यालयमा काजमा कार्यरत स्वास्थ्यकर्मीलाई सम्बन्धित दरबन्दी भएको कार्यालयमा फिर्ता गरिएको हो।
निर्णयअनुसार एघारौँ तहका स्वास्थ्य शिक्षा प्रशासक सुरोज चन्द्र न्यौपानेलाई स्वास्थ्य निर्देशनालय मधेश प्रदेश, सपहीबाट दरबन्दी कायम रहेको प्रदेश स्वास्थ्य तालिम केन्द्र, पथलैयामा फिर्ता गरिएको छ। उनी काजमा स्वास्थ्य निर्देशनालयका निर्देशकका रूपमा कार्यरत थिए।
वरिष्ठ स्वास्थ्य प्रशासक दशौँ तहका डा. नवलकिशोर झालाई पनि स्वास्थ्य कार्यालय सर्लाहीबाट फिर्ता गरी दरबन्दी रहेको स्वास्थ्य निर्देशनालय, सपहीमा पठाइएको छ। उनी स्वास्थ्य कार्यालय सर्लाहीको प्रमुखका रूपमा काजमा कार्यरत थिए।
त्यस्तै, इन्टर्नल मेडिसिनतर्फका डा. विपिनकुमार झालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता गरिएको छ। उनी कार्यालयको अतिरिक्तमा रहेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काजमा कार्यरत थिए।
प्रादेशिक अस्पताल गौर, रौतहटमा दरबन्दी रहेका पाँच जना विशेषज्ञ चिकित्सकलाई पनि दरबन्दी भएकै अस्पतालमा फिर्ता गरिएको छ। फिर्ता हुनेमा जनरल फिजिसियन डा. सञ्जीतकुमार झा, बालरोग विशेषज्ञ डा. रवीन्द्रकुमार साह, रेडियोलोजिस्ट डा. गिरीरञ्जन प्रधान, एनेस्थेसियोलोजिस्ट डा. रौशनकुमार साह र मनोचिकित्सक डा. दिव्यांशु झा रहेका छन्। उनीहरू यसअघि प्रादेशिक अस्पताल जनकपुरमा काजमा कार्यरत थिए।
यसैगरी, प्रादेशिक अस्पताल मलंगवा, सर्लाहीमा दरबन्दी रहेका बालरोग विशेषज्ञ डा. जितेन्द्र जयसवाल र गाइनोक्लोजिस्ट डा. बृजमोहनकुमार रजकलाई पनि दरबन्दी भएकै कार्यालयमा फिर्ता गरिएको छ। दुवै जना लामो समयदेखि प्रादेशिक अस्पताल जनकपुरमा काजमा कार्यरत थिए।
प्रादेशिक अस्पताल कलैया, बारामा दरबन्दी रहेका बालरोग विशेषज्ञ डा. विकासकुमार साह र एनेस्थेसियोलोजिस्ट डा. संदीप शर्मालाई समेत सम्बन्धित अस्पतालमा फिर्ता पठाइएको छ। उनीहरू पनि जनकपुरस्थित प्रादेशिक अस्पतालमा काजमा कार्यरत थिए।
त्यस्तै, प्रादेशिक अस्पताल सिरहामा दरबन्दी रहेका जनरल मेडिसिनतर्फका डा. कृष्णकुमार यादव र अर्थोपेडिक सर्जन डा. रवि श्रीवास्तवलाई पनि दरबन्दी भएकै स्थानमा फर्काइएको छ। डा. यादव प्रादेशिक अस्पताल जनकपुरमा काजमा कार्यरत थिए भने डा. श्रीवास्तव जलेश्वरमा काजमा रहेका थिए।
मधेश प्रदेशमा दरबन्दी एउटा कार्यालयमा भए पनि लामो समयसम्म अन्य कार्यालयमा काजमा रहने प्रवृत्ति देखिँदै आएको छ। विशेषगरी प्रदेश राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा अन्य जिल्लामा दरबन्दी भएका चिकित्सकहरू काजमा आएर बस्ने गरेका छन्।
त्यस्तै, दरबन्दी अन्यत्र भए पनि सुविधा वा आर्थिक गतिविधि बढी हुने कार्यालयमा काजमा जाने प्रवृत्तिलाई समेत कर्मचारी प्रशासनमा देखिएको विकृतिका रूपमा लिइँदै आएको छ।
सरकारले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्दै कर्मचारीलाई दरबन्दी भएकै कार्यालयमा जिम्मेवारीअनुसार काम गराउने नीति अघि सारेको जनाएको छ। काज फिर्ताको निर्णयले प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा दरबन्दीअनुसार सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ।















Discussion about this post