किभ/भदौं ३ गते। युक्रेनका पूर्व रक्षामन्त्री मिखाइलो फेडोरोभले युद्धकै बीचमा निर्वाचन गराउनु पर्ने माग गरेका छन्।
फेब्रुअरी २०२२ मा रुससँग युद्ध सुरु भएयता भोलोडिमिर जेलेन्स्कीको राष्ट्रपतीय कार्यकालका लागि यसलाई धेरैले सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरेका छन्।
३५ वर्षीय फेडोरोभले मंगलबार युट्युबमा पोस्ट गरिएको भिडियोमा भने, ‘लोकतन्त्र रुसको बन्धक बन्न सक्दैन, हामी एक स्वतन्त्र युरोपेली राष्ट्रका रूपमा रहिरहन चाहन्छौं ।’ उनका अनुसार सोही उद्देश्य अनुसार संघर्ष गरिरहेको छ।
रुसको आक्रमणयता युक्रेनमा सैनिक शासन छ, जसको अर्थ निर्वाचनहरू स्थगित गरिएका छन्। भिडियोमा जेलेन्स्कीको नाम नलिएका फेडोरोभलाई रक्षामन्त्रीमा नियुक्त भएको ६ महिना पछि अर्थात् जुलाईको अन्त्यतिर अप्रत्याशित रूपमा पदबाट हटाइएको थियो।
फेडोरोभको भिडियोमाथि जेलेन्स्कीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । फेडोरोभलाई पदबाट हटाउने निर्णयले देशभर विरोध प्रदर्शनहरू निम्त्याएको थियो।
रक्षामन्त्रीको कार्यकालमा फेडोरोभले मन्त्रालयमा नयाँ ऊर्जा भर्ने, भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्व गर्ने तथा रणभूमिको कार्यसम्पादन विश्लेषण र सुधार गर्न तथ्यांकको प्रयोग गर्ने काम गरेको श्रेय पाएका थिए।
उनलाई पदबाट हटाउने निर्णय सेनाका कमान्डर इन चिफ ओलेक्सान्डर सिर्स्कीसँगको तनाबसँग सम्बन्धित रहेको व्यापक रूपमा मानिन्छ। युक्रेनी राष्ट्रपति माथि हप्तौंसम्म चलेको विरोध प्रदर्शनको दबाब बढे पछि केही सातामै सिर्स्कीलाई पनि पदबाट हटाइएको थियो।
युट्युब भिडियोमा फेडोरोभले आफ्ना राजनीतिक योजनाबारे कुनै संकेत गरेका छैनन् । बरु उनले ‘दीर्घकालीन युद्धको अवस्थामा पनि युक्रेनलाई पूर्ण लोकतान्त्रिक प्रक्रिया पुनःस्थापना गर्न सक्षम बनाउने कानुनी, सुरक्षित र यथार्थपरक संयन्त्र’को आवश्यकतामा जोड दिए।















Discussion about this post