साउन ३० गते । मधेशको सामाजिक परिवेश, संघर्ष, सम्बन्ध, पीडा र बदलाको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली फिल्म ‘प्रतिवैरम्’ को रिलिज मिति सहितको आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षका अनुसार फिल्म आगामी मङ्सिर ४ गतेदेखि देशभरका फिल्म हलमा प्रदर्शनमा आउनेछ।
सार्वजनिक पोस्टरमा फिल्मको गम्भीर तथा एक्सनप्रधान कथावस्तुलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। पोस्टरको पृष्ठभूमिमा दन्किरहेको आगोको ज्वालाले फिल्ममा रहेको संघर्ष र बदलाको कथालाई प्रतीकात्मक रूपमा देखाएको छ।
पोस्टरको केन्द्रमा मुख्य पात्र सम्राट दासलाई रगताम्मे, आक्रामक र निडर अवतारमा प्रस्तुत गरिएको छ। उनले परम्परागत मधेसी पहिरनमा रहेकी तथा अनुहारमा रगतका छिटा परेकी प्रमुख महिला पात्र सुप्रज्ञा शर्मालाई सुरक्षित राख्दै अङ्गालोमा बेरेका छन्। पोस्टरले फिल्ममा एक्सनसँगै प्रेम, पारिवारिक सम्बन्ध र प्रतिशोधको गहिरो मिश्रण रहेको संकेत गरेको छ।
रेज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको ‘प्रतिवैरम्’ सिम्पल एड मिडिया, श्रीयन इन्टरटेनमेन्ट तथा आदर्श प्रोडक्सन्सको सहकार्यमा तयार भएको हो। फिल्मको कथा तथा निर्देशन रोशन दासले गरेका छन् भने पटकथा तथा संवाद युवराज भट्टराईको रहेको छ। फिल्मका निर्माता सत्यराज चौलागाईं ‘एसआरसी’ र हर्ष कुमार यादव हुन्।
फिल्ममा अनिश पोखरेल को-प्रोड्युसर, विक्की साह एक्जिक्युटिभ प्रोड्युसर तथा राकेश साह क्रिएटिभ प्रोड्युसरका रूपमा रहेका छन्। छायांकन कृष्ण बर्देवा ‘ज्याक’, सम्पादन कबिर ओड तथा रङ संयोजन श्याम कुँवरले गरेका छन्।
‘प्रतिवैरम्’ मार्फत सम्राट दासले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन्। फिल्ममा उनीसँगै वीरेन्द्र सिंह कुशवाहा, अलिशा बास्तोला, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, प्रदीप ढकाल, रोनी यादव, नवीन श्रेष्ठ र नारायण बी.क. लगायतका कलाकारको अभिनय रहेको निर्माण पक्षले जनाएको छ।
फिल्मको अर्को विशेषता यसको बहुभाषिक प्रस्तुति हो। ‘प्रतिवैरम्’ नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा दर्शकमाझ आउनेछ। मधेशको वास्तविक कथा र भावनालाई मैथिली तथा भोजपुरी भाषामार्फत मधेशका विभिन्न क्षेत्रमा पुर्याउने लक्ष्य निर्माण पक्षको छ।
त्यसैगरी हिन्दी भाषाको प्रस्तुतिमार्फत सीमावर्ती भारतीय बजारसहित हिन्दी भाषी दर्शकमाझ फिल्मको पहुँच विस्तार गर्ने रणनीति निर्माण टिमले लिएको जनाएको छ।
मधेशको सामाजिक परिवेश र स्थानीय कथालाई केन्द्रमा राखिएको दाबी गरिएको ‘प्रतिवैरम्’ ले एक्सन, प्रेम, पारिवारिक सम्बन्ध र प्रतिशोधको कथालाई बहुभाषिक रूपमा दर्शकमाझ पुर्याउने अपेक्षा गरिएको छ।















Discussion about this post