कोलकत्ता/असार ३१ गते। निर्वासित बंगलादेशी लेखिका तस्लिमा नसरिन करिब दुई दशकपछि अर्को महिना कोलकाता फर्कँदै छिन्।
उनी आगामी अगस्ट १ मा सो सहरमा आयोजना हुने अतिवाद विरोधी साहित्यिक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
आफ्ना लेखहरूविरुद्ध भएका हिंस्रक विरोध प्रदर्शनका कारण सन् २००७ मा उनले कोलकाता छोड्नुपरेको थियो। उनको यो आगमनलाई अहिले राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ, पश्चिम बंगालमा भाजपा नेतृत्वको सरकारले यसलाई धार्मिक कट्टरपन्थीहरू सामु झुक्ने विगतको कथित नीतिमा आएको परिवर्तनका रूपमा प्रस्तुत गरिरहेको छ।
सामाजिक सञ्जालमा गरिएको एक पोस्टमार्फत तस्लिमा नसरिनले आफू रवीन्द्र सदनमा आयोजना हुने कार्यक्रममा सहभागी हुने घोषणा गरेकी छिन्, जहाँ उनले कविता वाचन गर्ने अपेक्षा गरिएको छ। धर्मनिरपेक्ष तथा कट्टरपन्थी विरोधी समूहहरूको गठबन्धनद्वारा आयोजित यस कार्यक्रमले साहित्यिक दायरा भन्दा माथि उठेर विशेष महत्त्व प्राप्त गरेको छ।
पश्चिम बंगालमा भाजपाले सत्ता सम्हालेको केही महिनापछि तथा अभिव्यक्ति स्वतन्त्रता, धर्मनिरपेक्षता र धार्मिक भावनाहरूसँग राज्यको सम्बन्धबारे चलिरहेको राजनीतिक बहसका बीच यो कार्यक्रम हुन लागेको हो।
पश्चिम बंगाल जन संगठनसँग आबद्ध आयोजकहरू मध्येका एक मोहित रोयले बताए अनुसार यो कार्यक्रम नसरिनको २० वर्षपछिको कोलकाता आगमनको उपलक्ष्यमा आयोजना गरिएको हो। उनले स्मरण गराए कि तत्कालीन वामपन्थी मोर्चा सरकार कट्टरपन्थी शक्तिहरू सामु झुकेपछि नसरिनलाई २१ नोभेम्बर २००७ मा उक्त सहर छोड्न बाध्य पारिएको थियो। उनले मुख्यमन्त्री सुभेन्दु अधिकारी पनि यस कार्यक्रममा सहभागी हुने जानकारी दिए।
नसरीनको आत्मकथा ‘द्विखण्डिता’ का अंशहरू प्रकाशित भएपछि सहरका विभिन्न भागमा विरोध प्रदर्शनहरू भएका थिए, जसका कारण तत्कालीन सरकारले उनलाई कोलकाता छोड्न आदेश दिए पछि उनी छाडेकी थिइन । उनलाई सुरुमा जयपुर र त्यसपछि दिल्ली पठाइयो पछि केन्द्रीय सरकारले उनलाई लामो समयसम्म बस्ने अनुमति र ‘मल्टिपल एन्ट्री’ भिसा प्रदान गरिएको थियो ।
तस्लिमा नसरिनको पश्चिम बंगाल भ्रमणबारे टिप्पणी गर्दै पश्चिम बंगाल सरकारकी मन्त्री अग्निमित्रा पलले भनिन्, ‘अघिल्लो सरकारको कार्यकालमा उनलाई भ्रमणको अवसरबाट वञ्चित गरिएको थिएन, बरु, उनलाई सुरक्षा भने उपलब्ध गराइएको थिएन। उनको प्रयोग गरियो अनि विपक्षीहरूले मुस्लिमहरूबारे यति धेरै कुरा गरे पनि, जब उनले आफ्नो किताबमा सत्य कुरा लेखिन्, तब उनलाई सुरक्षा दिइएन, टीएमसी सरकारको पालामा सबै धर्मका मानिसहरूको प्रयोग गरिएको छ।’
मुख्यमन्त्री सुभेन्दु अधिकारीले भाजपा सरकारको कार्यकालमा १ अगस्टमा तस्लिमा नसरिन आउनु हाम्रा लागि गर्व र खुसीको कुरा रहेको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।















Discussion about this post