सञ्जय मिश्रा/रौतहट/असार २८ गते। मनसुनसँगै बढ्ने बाढी र डुबानको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय रौतहटले शनिबार मनसुनजन्य विपद् प्रतिकार्य तथा उद्धार अभ्यास सम्पन्न गरेको छ।
सम्भावित क्षति घटाउने र आपतकालीन अवस्थामा छिटो प्रतिक्रिया दिन सक्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गरिएको अभ्यास गौर नगरपालिका–५ स्थित बरहवा ताल क्षेत्रमा सम्पन्न भएको हो।
कार्यक्रममा रौतहटका प्रहरी प्रमुख एसपी सिताराम रिजालको उपस्थिति रहेको थियो। इन्स्पेक्टर कैलाश कुमार केसीको नेतृत्वमा खटिएको टोलीले बाढीमा फसेका व्यक्तिको उद्धार, सुरक्षित स्थानमा सार्ने प्रक्रिया, प्राथमिक उपचार र आपसी समन्वयका चरणहरू व्यवहारिक रूपमा प्रस्तुत गरेको थियो।
अभ्यास अवलोकन गर्न प्रहरीको ठूलो उपस्थिति थियो भने स्थानीय बासिन्दा पनि उत्साहपूर्वक सहभागी भएका थिए। विपद्को बेला अपनाउनुपर्ने सावधानी, सुरक्षित रहने उपाय र उद्धार टोलीसँग कसरी समन्वय गर्ने भन्ने विषयमा सहभागीहरूलाई जानकारीसमेत दिइएको थियो।
मनसुन सुरु भएसँगै रौतहटका बागमती, लालबकैया लगायतका नदीहरूमा बाढीको जोखिम उच्च हुने भएकाले यस्ता अभ्यासलाई सुरक्षा निकायले अत्यन्त उपयोगी मानेका छन्। वास्तविक विपद्को समयमा उद्धार टोलीको क्षमता, उपकरणको प्रयोग, समन्वय र तत्काल निर्णय गर्ने दक्षता परीक्षण गर्न पूर्वाभ्यासले महत्वपूर्ण भूमिका खेल्ने अधिकारीहरूको भनाइ छ।
रौतहटका तटीय तथा डुबान प्रभावित बस्तीहरू हरेक वर्ष बाढीको मारमा पर्ने भएकाले विपद् आउनुअघि नै गरिएको तयारीले जनविश्वास बढाउने र सम्भावित क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रहरीले आगामी दिनमा पनि स्थानीय तह, अन्य सुरक्षा निकाय र समुदायसँगको सहकार्यमा यस्ता अभ्यासलाई निरन्तरता दिने जनाएको छ।















Discussion about this post