धनुषा/असार १३ गते। नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसन (एनसीडीए), जनकपुरधामको वार्षिकोत्सवको अवसरमा शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कल्किज्म रिसर्च सेन्टरको आयोजनामा “कोरोना भन्दा १०० गुणा ठूलो हुन सक्ने सम्भावित महामारी (पोस्ट–एन्टिबायोटिक युग) रोक्न औषधि व्यवसायीहरूको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कल्किज्म रिसर्च सेन्टरका अध्यक्ष जय साहले एन्टिबायोटिकको अविवेकी तथा अनियन्त्रित प्रयोगका कारण भविष्यमा पोस्ट–एन्टिबायोटिक युगको जोखिम बढ्दै गएको उल्लेख गर्दै कोरोना महामारीभन्दा पनि गम्भीर संकट निम्तिन सक्ने बताएका छ्न । उनले यस्तो सम्भावित महामारी रोक्न औषधि व्यवसायीहरूको जिम्मेवारी अझ महत्वपूर्ण रहेको बताए।
उनले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक प्रयोग नगर्न, निर्धारित मात्रा (डोज) पूरा गर्न र जनचेतना अभिवृद्धिमा औषधि व्यवसायीहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसन (एनसीडीए) जनकपुरधामका अध्यक्ष प्रमोद अग्रवालले जिम्मेवार औषधि वितरण, जनस्वास्थ्य संरक्षण तथा एन्टिबायोटिकको दुरुपयोग नियन्त्रणमा औषधि व्यवसायीहरूको भूमिका प्रभावकारी हुनुपर्ने बताए। उनले यस्ता सचेतनामूलक कार्यक्रमले स्वास्थ्य क्षेत्रलाई थप जिम्मेवार र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
अन्तरक्रियामा पोस्ट–एन्टिबायोटिक युगको सम्भावित जोखिम, एन्टिबायोटिकको जिम्मेवार प्रयोग, औषधि व्यवसायीहरूको सामाजिक तथा स्वास्थ्यसम्बन्धी भूमिका, महामारी रोकथाममा निजी क्षेत्रको योगदान तथा जनचेतना अभिवृद्धिका प्रभावकारी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा “रोज कुरा गर्नु, रोज कुरा गर्नु, डाक्टरले भनेको डोज पूरा गर्नु” भन्ने मुख्य नारालाई अभियानका रूपमा अघि बढाउने जय साहले बताए ।
कार्यक्रममा नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसन (एनसीडीए) जनकपुरधामका कार्यसमितिका पदाधिकारी, औषधि व्यवसायी,स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो। आयोजकले सहभागीहरूको सुझाव र सक्रिय सहभागिताले पोस्ट–एन्टिबायोटिक युगको जोखिम न्यूनीकरणसम्बन्धी अभियानलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।





















Discussion about this post