धनुषा/असार ६ गते। नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता शनिबारदेखि जनकपुरधामस्थित रामजानकी अन्तर्राष्ट्रिय रंगशालामा सुरु भएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधामस्थित रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य आगामी आर्थिक वर्षदेखि सुरु गरिने बताएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले रंगशाला निर्माणलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको बताए ।
उनले रंगशाला निर्माणका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ५६ करोड रुपैयाँ लागत अनुमान गरिएको जानकारी दिँदै निर्माण प्रक्रिया अघि बढाइने बताए । खेलकुद पूर्वाधारको विकास प्रदेश सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्री यादवले क्रिकेटसहित अन्य खेलको प्रवद्र्धन र विकासका लागि आवश्यक बजेट विनियोजन गरिने उल्लेख गर्दै प्रदेशका आठवटै जिल्लामा रहेका खेलमैदानको स्तरोन्नति तथा पूर्वाधार निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा मधेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी यादवले खेलकुदलाई युवासँग जोड्दै व्यावसायिक बनाउन परिषद्ले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले खेलकुद क्षेत्रको विकासले प्रदेशको समग्र विकासमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै मधेशलाई खेलकुदमय प्रदेश बनाउने अभियानलाई तीव्रता दिइने बताए ।
कार्यक्रममा नेपाल खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेत, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह, महासंघका महासचिव धर्म लामालगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए। कार्यक्रमको सञ्चालन सरोज मिश्रले गरेका थियो।
शनिबारदेखि सुरु भएको नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका टोलीसँगै नेपाल एपीएफ क्लब गरी आठ टोलीको सहभागिता रहेको छ । आयोजकका अनुसार प्रतियोगिताका खेलहरू जनकपुरधाम र वीरगञ्जमा सञ्चालन हुनेछन् भने फाइनल खेल वीरगञ्जमा आयोजना गरिनेछ ।





















Discussion about this post