जनकपुरधाम/साउन १५ गते। मधेश प्रदेश सरकारको खेलकूद तथा समाज कल्याण मन्त्रालयलाई ‘लैंगिक हिंसा प्रतिकार्य सम्बन्धी घटना व्यवस्थापन तथा सेवा प्रेषण प्रणाली निर्देशिका, २०८२’ को मस्यौदा बिहीबार जनकपुरधाममा एक कार्यक्रममा हस्तान्तरण गरिएको छ।
निर्देशिका मस्यौदा निर्माण गर्न गठित कार्यदलका पदाधिकारीहरूले जनकपुरधामस्थित मन्त्रालयमा पुगेर मन्त्री प्रमोदकुमार जयसवाललाई मस्यौदा हस्तान्तरण गरेका हुन्। कार्यदलमा खेलकूद तथा समाज कल्याण मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, युरोपियन युनियन एजेन्सी, युएनएफपीए, सीएमसी नेपाल लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यदल बैशाख १५ गते गठन गरिएको हो।
कार्यक्रममा राष्ट्रिय बाल परिषद्का प्रदेश समन्वय अधिकृत संजिव महतोले निर्देशिकामा चार अनुच्छेद र २१ वटा बुँदाहरू समावेश गरिएको जानकारी दिए। उनका अनुसार निर्देशिकाले लैंगिक हिंसाका पीडितलाई घटनाको व्यवस्थापनदेखि पुनःस्थापनासम्मका चरणहरूमा आवश्यक सेवा र सहायता प्रदान गर्नेछ। निर्देशिकामा कानूनी सहायता, मनोसामाजिक परामर्श, स्वास्थ्य उपचार, अस्थायी तथा दीर्घकालीन सुरक्षा व्यवस्था, जीविकोपार्जनका उपाय लगायतका व्यवस्थाहरू समावेश गरिएको छ।
कार्यदल संयोजकसमेत रहेकी समाज कल्याण महाशाखा प्रमुख निर्मला मिश्रले मन्त्री जयसवाललाई मस्यौदा हस्तान्तरण गरिन्। मस्यौदा प्राप्त गर्दै मन्त्री जयसवालले महिलाविरुद्धको हिंसा न्यूनीकरण तथा पीडितको पुनःस्थापनाका लागि यो निर्देशिका प्रभावकारी हुने विश्वास व्यक्त गरे।
“मधेशमा परम्पराको नाममा हुने विभिन्न प्रकारका हिंसाले समाजलाई पछाडि धकेलिरहेको छ,” मन्त्री जयसवालले भने, “निर्देशिका कार्यान्वयनमा आएपछि हामीले सुरु गरेको हिंसा विरुद्धको अभियान अझ सशक्त हुनेछ।” उनले प्रदेश सरकार महिला हिंसा, घरेलु हिंसा र सामाजिक विकृतिविरुद्धको अभियानलाई निर्देशिकाले थप बल पुर्याउने स्पष्ट पारे।




















Discussion about this post