जनकपुरधाम/चैत ११ गते। मधेश प्रदेशको खेलकुद समाज कल्याण मन्त्रालयको समन्वयमा बालबिबाह विरुद्धको प्रदेशस्तरीय संजालको आयोजना गरिएको थियो। यस कार्यक्रममा बालबिबाह अन्त्यका लागि कानुनी र नीतिगत कार्यान्वयनको अवस्था सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया गरिएको छ।
यो कार्यक्रम मधेश प्रदेशको भौतिक तथा योजना मन्त्रालयको सभा हलमा आयोजना भएको थियो, जसको अध्यक्षता संजालका प्रदेश सदस्य सहिदा खातुनले गर्नु भएको थियो। प्रमुख अतिथिका रूपमा प्रदेश सभा सदस्य रुपा यादव र सहजीकरण संजालका कार्यक्रम अधिकृत अर्जुन साहले गर्नुभएको थियो।
कार्यक्रममा संजालका कार्यक्रम संयोजक प्रसंशा सिंहले स्वागत मन्तव्य प्रस्तुत गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नुभएको थियो। यस कार्यक्रमको क्रममा दुईवटा महत्वपूर्ण प्रस्तुती प्रस्तुत गरियो। पहिलो प्रस्तुती खेलकुद तथा समाज कल्याण मन्त्रालयका उपसचिव देव कुमारी खत्रीले मधेश प्रदेशमा बालबिबाहसँग सम्बन्धित कानुनी व्यवस्था र कार्यन्वयनको अवस्था बारे चर्चा गर्नुभएको थियो। दोस्रो प्रस्तुती मधेश प्रदेश प्रहरी कार्यालयका इन्स्पेक्टर बिक्रम साहले जिल्लामा भएका बालबिबाहका घटनाहरू, चुनौतीहरू र मुद्दाको अवस्था बारे प्रस्तुती गर्नुभएको थियो।
दुवै प्रस्तुती पछि पिन संस्थाका परियोजना व्यवस्थापक सुनिल साह, सहायक न्यायधीवक्ता सुदिप डंगोल, युवा अभियानी आसुतोष झा र हाम्रो प्रयास संस्थाका कार्यक्रम संयोजक ओम प्रकाश गिरि लगायतका सहभागीहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो।
खुल्ला छलफल पश्चात प्रमुख अतिथि सांसद रुपा यादवले भनिन, “हामीले कानुन बनाएर पठाएका छौं, तर यसको कार्यान्वयन गर्न नसक्नु हामी सबैको जिम्मेवारी हो। अहिले पनि बालबिबाहका घटना समाजमा बढिरहेका छन्, यसलाई गम्भीर रूपमा सोच्नुपर्ने समय आएको छ। जबसम्म अभिभावक सचेत हुँदैनन्, यस्ता घटनाहरू भइरहन्छन्। त्यसैले हामीले शिक्षामा पहुँच बढाउँदै, सबैले मिलेर यसलाई साझा मुद्दा बनाएर अगाडि बढ्नु पर्छ।”
कार्यक्रमको अध्यक्षता गर्नुभएको सहिदा खातुनले सबैलाई धन्यवाद दिँदै, “सरकारको रणनीति अनुसार २०३० सम्म बालबिबाह अन्त्य गर्नका लागि हामीलाई एकजुट भएर काम गर्न आवश्यक छ,” भन्दै कार्यक्रम समापन गर्नुभयो।




















Discussion about this post