धनुषा।यस वर्षको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मैथिली साहित्य परिषद् राजविराज (सप्तरी) लाई प्रदान गरिने भएको छ। सरकारबाट स्थापित विद्यापति पुरस्कार कोषद्वारा पाँच विधामा वर्षेनी प्रदान गर्ने सो पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ।
परिषद्ले मैथिल संस्कृति, सभ्यता, भाषा र साहित्यको संरक्षण र प्रवद्र्धनमा पुर्याएको योगदान क्रियायाशीलताका लागि सो पुरस्कार दिइने निर्णय गरिएको हो।
त्यस्तै सो पुरस्कारअन्तर्गत रू एक लाख राशि भएको नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार धनुषा जिल्लाका वुषेशचन्द्र लाललाई दिने निर्णय गरिएको छ। उनलाई बिपी कोइरालाको मोदि आइन र सुम्निमा कृतिको मैथिली भाषामा अनुवादका लागि सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरिएको हो।
धनुषा जिल्लाका सुजितकुमार झालाई ‘पुनि पुनि होत विवाह’ नामक अनुसन्धामूलक कृतिका लागि नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरी जिल्लाका अमरेन्दकुमार यादवलाई ‘स्त्री आ आगि’ नामक कृतिका लागि नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार प्रदान गर्ने निर्णय गरिएको कोषद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सो पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ।
कोषले सप्तरी जिल्लाका सुनिताकुमारी साह र धनुषा जिल्लाका अजितकुमार साहलाई नेपाल विद्यापति कला संस्कृति पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। सो पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ। सदस्य सचिव नवीन मिश्रका अनुसार पाँचै विद्याका पुरस्कारको वितरण चालू आर्थिक वर्षभित्र नै हुनेछ। रासस














Discussion about this post