काठमाडौं/भदौ १५ गते । बाढीले क्षतिग्रस्त त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार प्रयास थप जटिल बनेको छ। सुरुङ खोल्ने क्रममा आइतबार राति ‘क्राउन ब्लास्ट’ गरिए पनि पानी भरिएकाले उद्धारकर्ताहरू भित्र प्रवेश गर्न सकेका छैनन्।
आइतबार राति करिब ३ बजे सुरुङको माथिल्लो भाग (क्राउन) मा ब्लास्टिङ गरिएको थियो। तर, त्यसपछि सुरुङको माथिल्लो भाग पूरै पानीले भरिएपछि तत्काल भित्र जाने अवस्था नरहेको सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिए।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत न्यौपानेले भनेका छन्, “क्राउन ब्लास्ट गरिए पनि सुरुङको माथिल्लो भाग पूरै पानीले भरिएकाले भित्र पस्ने आशा तत्काल असम्भव भएको छ।”
भित्र पस्न गाह्रो भए पनि सुरुङको मुख खोल्ने कार्य भने निरन्तर जारी राखिएको उनले बताएका छन्। पानी नियन्त्रण र सुरुङ खुलाउने प्रयाससँगै उद्धारको विकल्पहरू खोजिँदै छ।















Discussion about this post