दाङ/भदौ १३ गते । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा बाढी र पहिरोबाट प्रभावित भएका नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको तर्फबाट विपद् प्रभावितहरूको उद्धार तथा राहतका लागि उक्त रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।
त्यस्तै, विपद्मा परी ज्यान गुमाउने लुम्बिनी प्रदेशका स्थायी बासिन्दाका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने भएको छ।
रसुवा लगायतका क्षेत्रमा गएको बाढी-पहिरोमा परी लुम्बिनी प्रदेशका १ सय ८१ जना नागरिक अझै सम्पर्कविहीन रहेको प्रदेश सरकारले जनाएको छ। सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको छ। साथै, नदीमा बगेर लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी क्षेत्रमा आइपुगेका शवहरूको व्यवस्थापनमा समेत प्रदेश सरकारले आवश्यक सहजीकरण गरिरहेको छ।
मुख्यमन्त्री आचार्यले यो कठिन परिस्थितिमा उद्योगी, व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आफ्नो तहबाट राहत र सहयोगमा जुट्न अपिल गरेका छन्।
यसैगरी, विपद्को समयमा भ्रामक र अपुष्ट सूचना तथा अफवाह नफैलाउन आग्रह गर्दै उनले आधिकारिक र विश्वसनीय स्रोतका सूचना मात्र सम्प्रेषण गर्न सबैमा अनुरोध गरेका छन्।















Discussion about this post