असार ३० गते। मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले सोमबार उनलाई दोषी ठहर गरेको हो। अदालतले दोषी ठहर गरे पनि सजाय भने अझै निर्धारण गरेको छैन। सजाय निर्धारणका लागि साउन ३२ गते अर्को पेसी तोकिएको छ।
अहिराज पूर्वपत्रकार तथा मधेशवादी राजनीतिज्ञ हुन्। उनलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ फागुन ७ गते मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेको थियो।
उनीमाथि एक महिलाले २०८१ जेठ ४ गते काठमाडौंको नयाँबानेश्वरस्थित आफ्नै डेरामा बलात्कार गरेको आरोप लगाएकी थिइन्। आरोपपछि अहिराजले आफूविरुद्ध जाहेरी दिने महिलाविरुद्ध उल्टै मुद्दा दायर गरेका थिए।
प्रहरीले २०८२ साउन ४ गते अहिराजलाई पक्राउ गरेको थियो। अनुसन्धानपछि सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध जबरजस्ती करणी मुद्दामा अभियोजन गरेको थियो।
त्यसपछि २०८२ साउन १४ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता उनी डिल्लीबजार कारागारमा थुनामा रहेका छन्।















Discussion about this post