धनुषा/फागुन १८ गते । मिथिलाको बहुचर्चित सांस्कृतिक उत्सव १५ दिवसीय मिथिला मध्यमा परिक्रमा पुनः आज जनकपुरधाम फर्किएको छ । धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट निस्केको रामसीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमान गढीमा पुगेपछि परिक्रमाको विधिवत शुरुवात हुने परम्परा छ । परिक्रमाको समापन जनकपुरधाम फेरी फर्केर अन्तगृह परिक्रमा गर्दै सम्पन्न हुने गर्छ । अन्तगृह परिक्रमाका लागि श्रद्धालुहरु आज जनकपुरधाम आइपुग्नेछन् भने भोली पल्ट अन्तगृह पञ्चकोशी परिक्रमा गर्नेछन् ।
हरेक वर्ष हुने परिक्रमामा भक्तजनले १५ दिनमा नेपालको १ सय ७ र भारतको २६ किलोमिटरको दूरी पैदल यात्रा गर्छन् । पवित्र धार्मिक स्थलहरूको परिक्रमा गर्दा पाप नाश हुनुका साथै पुण्य मिल्ने जनविश्वास छ । परिक्रमा अवधिभर सहभागीहरुले झाँकी, भजन, किर्तन पनि गर्छन् । नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक बनेको परिक्रमायात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् ।
परिक्रमाको प्रारम्भ
परिक्रमाको प्रारम्भ बारे कतै उल्लेख भएको पाइदैन यद्यपि भगवान गणेशद्वारा तीनै लोकको परिक्रमाको क्रममा माता पार्वती र पिता महादेवको परिक्रमा गरेको धर्मग्रन्थहरुमा उल्लेख पाइन्छ । आफ्नो अराध्य देव वा देवी तथा पुण्य भूमिको परिक्रमा गर्नाले पुण्यको प्राप्ति हुने जनविश्वास रहेको छ । मन्दिरहरु देवी देवताको पूजा गरेपछि त्रिपेक्षण गर्नुलाई परिक्रमाकै स्वरुपको रुपमा लिइन्छ ।
परिक्रमाको इतिहास उल्लेख नभएपनि मध्यमा परिक्रमालाई व्यवस्थित गर्नुमा धनुषाको कचुरी मठको प्रयासलाई सराहनीय मान्न सकिन्छ । सोही मन्दिरले अहिले पनि मिथिला मध्यमा परिक्रमाको नेतृत्व गर्ने गरेको छ । परिक्रमाको नेतृत्वको विषयलाई लिएर कचुरी मठ र जनक दुलारी कुटी बिच मुद्दा मामिला समेत चलेको थियो । तर वि.सं. १९९०मा जिल्ला अदालत धनुषाले कचुरी मठकै पक्षमा फैसला सुनायो ।
हुनत मिथिला मध्यमा परिक्रमा सम्बन्धमा मिथिला महात्ममा चर्चा भएको पाइन्छ । मिथिला महात्म १८औँ शताब्दिमा लेखिएको मानिन्छ । यस हिसाबले मिथिला मध्यमा परिक्रमा १८औँ शताब्दिभन्दा पहिले नै शुरु भएको हुन सक्ने अनुमान गरिन्छ ।
विश्राम स्थलको आ–आफ्नै महत्व नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राका लागि नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् । मिथिला महात्म्यमा यी विश्रामस्थलका पौराणिक एवम् धार्मिक महत्वबारे चर्चा गरिएकाले यी स्थलप्रति भक्तजनको आस्था रहेको पाइन्छ ।
नेपालको १०७ एवम् भारतको २६ गरी १३३ किमी भूमिमा परिक्रमा(पैदलयात्र) गर्ने परम्परा छ ।
यस परिक्रमामा भारतको अयोध्या, मथुरा, हरिद्वार, दरभङ्गा, सीतामढी, वैद्यनाथ धामका साधुहरुको उल्लेख्य रुपमा सहभागिता हुन्छ । विगतमा भएका पाप नास भएर मनोकामना पूरा हुने धार्मिक मान्यता अनुसार परिक्रमाका यात्रुहरु भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन हुँदै धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक÷एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आइपुग्छन् र पूर्णिमाको दिन जनकपुरधामको अन्तगृह परिक्रमा गरी होली खेलेर १५ दिवसीय यात्रा सम्पन्न हुन्छ ।
फागुन शुक्ल प्रतिपदाबाट प्रारम्भ हुने यो धार्मिक यात्रा सुख समृद्धि मानसिक शान्ति तथा चारधामको दर्शनगरे बराबरको फल प्राप्ति हुने विश्वास सहहागी यात्रुमा छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा निर्माण गरिएका कल्याणेश्वर, जलेश्वर, क्षिरेश्वर र सप्तेश्वर शिवालयलाई आधार मानी यो परिक्रमा यात्रा सुरु गरिएको हो ।
कलना : परिक्रमाको पहिलो बिसौनी भारतको बिहार राज्य स्थित कलना रहेको छ । कलनामा रहेको कलाणेश्वर महादेवको मन्दिर रहेको छ । परिक्रमामा सहभागी श्रद्धालुहरु कल्याणेश्वर महादेवको पूजा अराधना गर्ने गर्छन ।
गिरिजास्थान : कल्याणेश्वर महादेवको पूजा अराधना गरी परिक्रमामा सहभागीहरु गिरिजास्थानका लागि प्रस्थान गर्छन । प्राचीन समयमा जानकी माता गिरिजास्थानमा रहेको कुण्डमा स्नान गरी माता गिरिजाको पूजाअर्चना गर्ने गरेको विश्वास गरिन्छ । माता जानकी र भगवान रामको पहिलो भेट यही स्थानमा भएको जनविश्वास रहेको पाइन्छ ।
मटिहानी : गिरिजास्थानबाट परिक्रमाका सहभागीहरु फेरी नेपालकै महोत्तरीस्थित मटिहानीका लागि प्रस्थान गर्छन । मटिहानी जानकी माताको विवाहमा मटकोर भएको धार्मिक ग्रन्थहरुमा उल्लेख पाइन्छ । अहिले पनि विवाहपञ्चमीको समयमा रामजानकीको विवाहका लागि यही मटकोर विधि सम्पन्न हुन्छ ।
जलेश्वर : मटिहानीबाट परिक्रमाको डोला महोत्तरीको सदरमुकाम जलेश्वर पुग्ने गर्छ । यहाँ भगवान् शङ्कर जलमै निवास गरेको हुनाले यो स्थानको परिक्रमामा बेग्लै महत्व रहेको छ । त्यसैले पनि यो महादेवको नाम नै जलेश्वरनाथ महादेव पर्न गएको हो ।
मडै : फागुन पञ्चमी तिथिमा जलेश्वरबाट महोत्तरीको मडै भन्ने स्थानमा परिक्रमाको डोला बास बस्दछ । उक्त ठाउँ माण्डव्य ऋषिको बास स्थान रहेको जनविश्वास रहेको छ ।
ध्रुवकुण्ड : मडैबाट षष्ठी तिथिका दिन परिक्रमाको डोला ध्रुवकुण्डका लागि प्रस्थान गर्छ । ध्रुवले यही स्थानमा कठोर तपस्या गरेको हुनाले यो स्थानकै नाम ध्रुवकुण्ड पर्न गएको हो ।
कञ्चनवन : सप्तमी तिथिमा ध्रुवकुण्ड बाट परिक्रमाको डोला कञ्चनवन पुग्ने गर्छ । यहाँ इच्छावती गंगा र वीरजा गङ्गाको संगमस्थल रहेको छ । इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको पाइन्छ । यो स्थानमा भगवान राम र माता जानकीले होली पर्व मनाएका थिए । यहाँ परिक्रमामा सहभागीहरु रंग अबिरबाट होली खेल्ने गर्छन ।
पर्वता : अष्टमी तिथिमा कञ्चनवनमा होली खेलेर परिक्रमामा सहभागी श्रद्धालुहरु पर्वताका लागि प्रस्थान गर्छन । यो स्थानमा पाँच पर्वतको संगमस्थल रहेको छ । त्यसैले यो स्थलकै नाम पर्वता पर्न गएको हो ।
धनुषाधाम : परिक्रमामा धनुषाधामको विशेष महत्व रहेको पाइन्छ । मिथिलाका राजा जनकले आफ्नो छोरी सीताका लागि आयोजना गरेको स्वयम्वरको क्रममा भगवान रामले शिवजीको धनुष भाँच्दा ३ टुक्रा भएको धर्म ग्रन्थहरुमा उल्लेख पाइन्छ । जसमध्ये एक टुक्रा आकाशमा, एक टुक्रा पातालमा र एक टुक्रा धरतीमा झरेको थियो । धरतीमा झरेको धनुषको टुक्रा यही स्थानमा झरेको जनविश्वास रहेको छ । त्यसैले स्थानको नाम धनुषाधाम पर्न गयो । नवमी तिथिका दिन परिक्रमामा सहभागीहरु यही स्थानमा विश्राम गर्छन ।
सतोषर : दशमी तिथिका दिन परिक्रमा धनुषाधामबाट सतोषरका लागि प्रस्थान गर्छन । यो स्थल सप्तऋषिको तपोभूमि रहेका कारण यसको पनि विशेष महत्व रहेको छ । त्यसपछि परिक्रमा औरही, करूणा हुँदै पुनः कल्याणेश्वर स्थान भई बिसौलमा विश्राम गर्छ । यो स्थलमा विश्वामित्रको मन्दिरमा पूजापाठ गर्ने गरिन्छ । चतुर्दशीका दिन उक्त ठाउँबाट डोला जनकपुरधाम आई विश्राम गर्छ । त्यसको भोलीपल्ट पूर्णिमाका दिन जनकपुरधामको अन्त गृह परिक्रमा गरी मिथिला मध्यमा परिक्रमा सम्पन्न हुन्छ । परिक्रमा सम्पन्न भएको भोलिपल्ट मिथिलाञ्चलमा होली पर्व मनाउने परम्परा रहेको छ ।














Discussion about this post