जनकपुरधाम/माघ ४ गते। लैङ्गिक न्यायपूर्ण समाज निर्माणमा पत्रकार र सञ्चारमाध्यमको भूमिका प्रवर्द्धन गर्ने उद्देश्यसहित जनकपुरधाममा लैङ्गिक न्यायमूलक पत्रकारितासम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा मधेस प्रदेशका धनुषा, महोत्तरी, पर्सा, बारा र सर्लाही जिल्लाबाट आएका ४२ जना पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यशालाको मुख्य उद्देश्य सञ्चार क्षेत्रलाई लैङ्गिक रूपान्तरणकारी दृष्टिकोणतर्फ उन्मुख गराउँदै लैङ्गिक न्याय तथा समावेशी रिपोर्टिङलाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएका छन् । साथै लैङ्गिक हिंसाबाट पीडित तथा प्रभावित व्यक्तिकेन्द्रित समाचार लेखन, महिला अधिकार, बालअधिकार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण तथा लैङ्गिक हिंसालगायत हानिकारक सामाजिक मूल्य–मान्यता र अभ्यासहरूको अन्त्यका लागि सञ्चार क्षेत्रको भूमिका र जवाफदेहिता अभिवृद्धि गर्नु पनि कार्यशालाको लक्ष्य रहेको थियो ।
सुरक्षा र न्याय कार्यक्रमअन्तर्गत बेलायत सरकारको आर्थिक सहयोगमा पिपुल इन निड नेपालको नेतृत्वमा दिव्य विकास स्रोत केन्द्र, पर्सा पर्सा र हामी दाजुभाइले मधेस प्रदेशमा लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्यका लागि समुदायस्तरमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएका छन् । सोही कार्यक्रमअन्तर्गत नेपाल पत्रकार महासंघका जिल्लास्तरीय शाखाहरूको समन्वयमा कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा लैङ्गिक हिंसाका विषयमा न्यायकेन्द्रित, संवेदनशील तथा पीडित–प्रभावित केन्द्रित रिपोर्टिङलाई प्रवर्द्धन गर्न सञ्चार क्षेत्रले खेल्नुपर्ने भूमिकाबारे छलफल गरिएको थियो । साथै डिजिटल पत्रकारिता, गलत सूचना नियन्त्रण, गोपनीयता र सुरक्षाका उपाय तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउन मिडियाको भूमिकाबारे समेत विस्तृत बहस भएको थियो ।
कार्यक्रममा सुरक्षा र न्याय कार्यक्रमका पाँच मुख्य पैरवी सन्देशहरूमा विशेष जोड दिइएको थियो । ती सन्देशहरूमा छोरीलाई बोझ होइन, महत्वपूर्ण सन्तानको रूपमा हेर्ने सोच विकास गर्ने, किशोर–किशोरी विवाह ढिलो गराउँदा शिक्षा र आम्दानीका अवसर बढ्ने, मायाको नाममा हिंसा स्वीकार्य नहुने, स्वस्थ सम्बन्धले परिवारमा खुसी र सम्मान बढाउने तथा हिंसाको रिपोर्टिङ गर्नु अरूलाई हिंसाबाट जोगाउने महत्वपूर्ण कदम भएको उल्लेख गरिएको थियो । कार्यशालाको सहजीकरण वरिष्ठ पत्रकार आरती चटौतले गर्नुभएको थियो भने मधेस प्रदेशमा क्रियाशील पत्रकार लक्ष्मी चौधरीले महिला अधिकार प्रवर्द्धनमा पत्रकारको भूमिका र आचारसंहिताका विषयमा प्रस्तुति राख्नुभएको थियो ।
हामी दाजुभाइकी कार्यक्रम प्रबन्धक सुमिक्षा खड्काले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो भने पिपुल इन निड नेपालका कार्यक्रम प्रबन्धक सुनिल कुमार साहले सुरक्षा र न्याय कार्यक्रमको विस्तृत जानकारी दिनुभएको थियो । समापन सत्रमा पिपुल इन निड नेपालका कार्यक्रम प्रबन्धक अनुरोध साहले लैङ्गिक रूपान्तरणका लागि पत्रकारको अपरिहार्य भूमिकामा जोड दिनुभयो । कार्यक्रमको समापन गर्दै हामी दाजुभाइका कार्यकारी निर्देशक संजोग ठकुरीले सहभागी सबैलाई लैङ्गिक न्यायमूलक पत्रकारिताका लागि शुभकामना व्यक्त गर्नुभयो । कार्यशालाले मिडियालाई महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण र लैङ्गिक हिंसाविरुद्ध जिम्मेवार, न्यायकेन्द्रित र समावेशी दृष्टिकोण अपनाउन प्रेरित गरेको आयोजकको विश्वास छ । कार्यशालापश्चात १० जना पत्रकारले लैङ्गिक समानता तथा सामाजिक रूपान्तरणका लागि फेलोसिपका रूपमा काम गर्ने अवसर पाउने जनाइएको छ ।














Discussion about this post