जनकपुरधाम/माघ ४ गते। ब्याहुत सेवा समिति (कलवार कुटी) को नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न निर्वाचनबाट श्यामप्रसाद साह २२५ मतान्तरले अध्यक्षमा निर्वाचित भएका छन्। समुदायको उल्लेखनीय सहभागिताबीच सम्पन्न निर्वाचनले समितिलाई नयाँ दिशा र गति दिने विश्वास गरिएको छ।
निर्वाचन परिणामअनुसार उपाध्यक्ष पदमा संजयप्रसाद साह निर्वाचित भएका छन्। महासचिवमा शिवशंकर साह (मुन्ना) निर्वाचित हुँदा सचिवको जिम्मेवारी दीपक साहले पाएका छन्। त्यसैगरी कोषाध्यक्षमा बजरंगप्रसाद साह निर्वाचित भएका छन्।
यसैगरी कार्यसमितिका सदस्यहरूमा रघुनाथप्रसाद साह, रामजी साह, मनोज साह तथा इन्दु देवी साह निर्वाचित भएका छन्। निर्वाचन प्रक्रियामा समुदायका ज्येष्ठ सदस्य, समाजसेवी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नव निर्वाचित अध्यक्ष श्यामप्रसाद साहले ब्याहुत समुदायको सामाजिक, सांस्कृतिक तथा धार्मिक एकता सुदृढ बनाउने, परम्परा संरक्षण गर्ने र सेवा–कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सबैको सहकार्य र सुझावका आधारमा समिति सञ्चालन गरिने बताए।
कार्यक्रममा बोल्ने वक्ताहरूले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै समुदायको हितमा एकताबद्ध भएर काम गर्न आग्रह गरेका थिए। निर्वाचन शान्तिपूर्ण, पारदर्शी तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।














Discussion about this post