जनकपुरधाम/साउन २१ गते। क्षिरेश्वरनाथ नगरपालिका–७ मा निर्माणाधीन सभा हल र दुर्गाटोलस्थित दुर्गा तुलसी रा.प्रा.वि.को भवनको स्थलगत अनुगमन गरिएको छ। नेकपा (एमाले) नगर अध्यक्ष अनिल चौधरीको पहलमा सम्पन्न अनुगमनमा प्रतिनिधिसभा क्षेत्र नम्बर ४ का सांसद तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठको प्रमुख सहभागिता रहेको थियो।
सांसद महासेठले निर्माणको प्रगति तथा गुणस्तरबारे जानकारी लिँदै सम्बन्धित निर्माण कम्पनीलाई निर्धारित समयमै गुणस्तरयुक्त काम सम्पन्न गर्न निर्देशन दिनुभयो। उहाँले विकास योजनामा एमालेको निरन्तर साथ, सहयोग र निगरानी रहने स्पष्ट पार्नुभयो।
त्यसैगरी, सखुवाको बाख्राबजारदेखि दुधमती चौकसम्म निर्माणाधीन कालोपत्रे सडकको पनि महासेठले निरीक्षण गर्नुभयो। उहाँले सो सडक स्थानीय आर्थिक विकासको मेरुदण्ड हुने विश्वास व्यक्त गर्नुभयो।
अनुगमनका क्रममा नगर अध्यक्ष अनिल चौधरीले सभा हल र विद्यालय भवन नगरको दीर्घकालीन आवश्यकता भएको उल्लेख गर्दै विकास निर्माणमा पारदर्शिता र गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगर प्रमुख सुखदेव यादव, स्थानीय जनप्रतिनिधि तथा राजनीतिक नेताहरूको समेत उपस्थिति रहेको अनुगमन टोलीले निर्माणाधीन संरचनाहरू भविष्यमा समुदायको हितमा उपयोगी हुने विश्वास व्यक्त गरेका थिए।














Discussion about this post