जेठ १९ गते। नेपाली सेनाको मध्यपुर्वी पृतनाको आयोजनामा बिपद प्रतिकार्य सम्बन्धी ‘हातेमालो अभ्यास’को सातौँ संस्करण २०८२ सम्पन्न भएको छ। रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ९ स्थित नुनथर बागमती नदी किनारमा सम्पन्न अभ्यासमा बाढी तथा पहिरो जस्ता प्राकृतिक प्रकोपका सम्भावित जोखिम न्युनिकरणमा केन्द्रित अभ्यासहरू गरिएको थियो।
उक्त अभ्यास कार्यक्रममा मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुन मन्त्री माननीय राजकुमार लेखीले सहभागी हुँदै बिपद प्रतिकार्यमा प्रदेश सरकारको सक्रियता अपरिहार्य रहेको धारणा व्यक्त गरे। मन्त्री लेखीले भने, “बिपद व्यवस्थापन र प्रतिकार्य नागरिकसँग प्रत्यक्ष सरोकारको विषय भएकोले यसलाई प्रदेश सरकारको प्राथमिकतामा राख्नुपर्छ।”
उनले मौसमविदहरूले यस वर्ष ३० वर्ष यताकै उच्च वर्षा हुने अनुमान गरिरहेको जानकारी दिँदै, त्यसअनुसार उच्च जोखिमको सम्भावनालाई मध्यनजर गर्दै नेपाली सेनालाई सतर्क र तयारी अवस्थामा रहन निर्देशन पनि दिएका छन्। मन्त्री लेखीका अनुसार, “बाढी र पहिरोका कारण हरेक वर्ष मानवीय तथा भौतिक क्षति हुने गरेको छ, त्यसैले यसप्रकारको अभ्यासले विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्छ।”
मध्यपुर्वी पृतना कार्यालयका अनुसार, मनसुन भित्रिनुअघि नै सम्भावित जोखिम न्यूनीकरण तथा समन्वयात्मक प्रतिकार्य अभ्यासका रूपमा यो कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा नेपाली सेना, स्थानीय निकाय, सुरक्षा निकाय, नागरिक समाज, रेडक्रस तथा स्वयंसेवकहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
यस किसिमको अभ्यासले विपद् व्यवस्थापनमा सबै तहका निकायबीच समन्वय र तत्काल प्रतिकार्य क्षमताको परीक्षण र अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।




















Discussion about this post