• श्यामसुन्दर शशि
जनकपुरधाम । धनुषामा एउटा ऐतिहासिक गाउँ छ– खजुरी । यो गाउँ खजुरी–चन्हा र महुवा–खजुरीको नामलेपनि चिनिन्छ । जनकपुर रेल्वेसंगै सडक मार्गबाटपनि जोडिएको उक्त गाउँ नेपाल–भारत सीमामा अवस्थित छ । मुलुकलाई अनेकौ राष्ट्रिय फुटवल खेलाडी दिएको उक्त गाउँका अन्य पहिचानहरु हुन्– कामकलाका मूर्तिहरु अंकित नेपालको खजुराहो (लक्ष्मीनारायण) मन्दिर तथा पारम्परिक स्वादका पारखिहरुलाई झण्डै सय वर्षदेखि लोभ्याई रहेको सुस्वादु प्याजी ।
हो, प्याजी । सिंगै प्याजलाई मिहिन काटेर, यसमा नून, बेसार, गरममसाला आदि घरैया मसल्ला मिश्रण गरि, वेसनमा चुर्लुम्म डुवाएर शुद्ध सरिसवको तेलमा फ्राई गरेको सुस्वादु जिनिस । हेर्दै खाऊँ खाउँ लाग्ने प्याजी खजुरी रेल्वे स्टेशनको ‘हाँटकेक’ हो । रेलमा सवार महिला–पुरुष, बाल–बालिका तथा बृद्ध–बृद्धाले चाख्नै पर्ने । घरका अन्य सदस्यकालागी साईनोको रुपमा लग्नै पर्ने । रेल खजुरी स्टेशन पुग्ने बित्तिकै बिक्रेताहरुको हूल आई पुग्छ– ‘प्याजी…..गरमागरम प्याजी । अपनो खाउँ आ सनेसो लेने जाऊ…’ भन्दै ।
६० वर्षिय मोहन यादव सुस्वादु प्याजी बनाउँन सुरु गर्ने परिवारका तेश्रो पुस्ता हुन् । जनकपुर–जयनगर रेल सेवा सुरु हुनु भन्दा पहिले झण्डै ९० वर्ष अघि मोहनका बाजे बौकु यादव पुरानो खजुरी स्टेशनमा मुरही, घुघनी, कचरी, प्याजी र च्युरा दहीको पसल थापेका थिए । पछि उनको पिताले थामेको यस व्यावसायलाई पछिल्लो ४० वर्षदेखि मोहन निरन्तरता दिदै आएका छन् । मोहन नास्ता पसलमा दैनिक १५ किलो प्याज खपत हुन्छ । १० देखि १२ किलोको प्याजी बन्छ । बांकीको प्रयोग छोला, कचरी आदिमा खर्च हुन्छ । यसका अतिरिक्त दैनिक २० किलो दहीपनि बिक्री हुन्छ । मुरही, छोला, प्याजी तथा च्युरा–दही मोहन नास्ता पसलको नामी भेराइटी हो ।
‘सानो साइजको प्याजमा एउटा र ठुलो साइजको प्याजमा दुई देखि तीनवटासम्म प्याजी बन्छ । समग्रमा एक किलोमा १५ देखि २० थान प्याजी तयार हुन्छ ।’ मोहन यादवले भने । मोहन दैनिक १० देखि १५ हजारको नास्ता बिक्री गर्छन् । ४० वर्ष अघि प्रति प्याजी ३५ पैसामा बिक्री गर्न सुरु गरेको प्याजीको मूल्य अचेल प्रतिप्याजी २० रुपियाँ पुगेको छ– ‘चालिस वर्ष अघि मैले प्याजी बेच्न सुरु गर्दा ३५ पैसामा बिक्री हुन्थ्यिो । त्यस पछि क्रमशः ५० पैसा, ७५ पैसा र १ रुपिया हुंदै १२ वर्ष अघि २० रुपियाँ पुगेको छ । मूल्य बढेपनि पहिले जस्तो आम्दानी भने हुदैन ।’ मोहन यादवले भने ।
पत्नी बेचनी यादवसंगै विहानदेखि बेलुकासम्म फूसको सानो नास्ता पसलका मिहिनेत गर्ने मोहनका ४ छोरी र २ छोरा छन् । जेठा छोरा सुजित यादव नेपाली विषयमा स्नात्कोत्तर गरेका छन् । कान्छा रवि यादव जनसंख्यामा स्नातक तथा कप्युटर विषयमा डिप्लोमा गरेका छन् । दुबै छोरा खजुरी स्टेशन नजिकै न्यु लाईफ भिजन अंग्रेजी विद्यालय संचालन गर्दै छन् । प्लस टू सम्मको मान्यताप्राप्त उक्त विद्यालयमा अचेल १० कक्षासम्मको अध्ययन अध्यापन हुन्छ । रवि यादवका अनुसार– विद्यालयम ९ सय भन्दा बढि विद्यार्थी र ३५ जना शिक्षक र कर्मचारी कार्यरत छन् ।
‘सर म पढ्न सकिन तर दुबै छोरालाई पढाए । प्याजीको कमाईले चोकमै ४ कठा जग्गा जोडे । छोराहरुले स्कूल चलाउँछु भनेपछि भवन बनाई दिए । मुरही, कचरी र प्याजीले मलाई नाम र दाम दुबै दिएको छ ।’ मोहन यादवले भने । विसं १९९२ मा जनकपुर–जयनगर रेलसेवा सुरु हुनु अघि मोहनको बाजेले थापेको एउटै पसल भएपनि त्यसपछि अन्य व्यावसायीहरुपनि नास्ताको पसल थापे । प्याजी बनाउँन थाले तर भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१६ देखि रेल विस्तार तथा स्तरोन्नति परियोजना सुरु भएपछि झण्डै १० वर्ष रेल सेवा बन्द भयो । रेल सेवा बन्द हुंदा ग्राहक घट्यो । अन्य पसलेहरु पलायन भए तर मोहन यादवको पसल भने निरन्तर रहि रह्यो– ‘सर, अब म रेलमा हल्ला गरेर प्याजी बेच्न जाँदिन । नेपालदेखि भारतसम्म मेरा सयौं स्थायी ग्राहक छन् । पसलमै बसेर बिक्री गर्न फुर्सद हुदैन् ।’
२०७८ सालदेखि रेलसेवा पुनः संचालन भएपछि प्याजी बेच्नेहरुको संख्या पुनः बढ्न थालेको छ । जनकनन्दनी गाउँपालिका– ४ का ४२ वर्षिय भोला साह खजुरी स्टेशन नजिकै पुनः नास्ताको पसल थापलेका छन् । भोला साहका बाजे उत्तीम साह झण्डै ५० वर्ष अघि रेल स्टेशनमा प्याजी बनाउँन सुरु गरेका थिए । यसका अतिरिक्त घरबाटै प्याजी बनाएर रेल आउँने–जाने बेला बेच्न आउँनेको संख्या झण्डै एक दर्जन छन् । जनकनन्दनी गापास्थित महुवाका राजकुमार मुखिया, शम्भुनाथ मुखिया, कृष्णकुमार मुखिया, राजन कुमार मुखिया, राहुल कुमार मुखिया आदिको पटके पेसा पनि घरबाट प्याजी बनाएर ल्याउँने अनि रेल आउँदा–जाँदा बिक्री गर्नु हो । प्याजी बिक्री गर्न स्कूले बालकहरुपनि लगाइएका हुन्छन् । प्याजी बिक्री गर्दै भेंटेका कक्षा ४ मा अध्ययनरत १० वर्षीय साजन कुमार मुखियाले भने– ‘विदाको दिन बुबालाई सहयोग गर्न आउँछु । स्कूल हुंदा आमा आउँनु हुन्छ ।’ भारतको सहयोगमा पुनः संचालनमा आएको जयनगर–जनकपुर–भंगहा रेलसेवाले खजुरीको प्याजी व्यावसायलाई पुनः जागृत बनाएको छ । जनकपुरबाट ४५ मिनेटमा पुग्न सक्ने खजुरीको सुस्वादु प्याजी खान निम्तो है हजुर ।। यात्रा ट्रेभल मैगजिनमा वरिष्ठ पत्रकार श्याम सुन्दर शशिले आलेख लेखेका छन् ।





















Discussion about this post