असोज १९ गते। बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।
कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउन ब्रह्मचारिणी माताको सख्खर चढाई पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अरिष्ट नाश हुने बताइएको छ । नवरात्रको दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ ।
संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रूप ब्रह्मको वोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ ।मार्कण्डेय पुराणलगायत ग्रन्थमा भनिएको छ, ‘ब्रह्म चारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’ अर्थात् सच्चिदानन्द ब्रह्मस्वरुपको प्राप्ति गराउने स्वभाव नै ब्रह्मचारिणी हो ।’ यसैले ब्रह्मतत्वको ज्ञान गर्न चाहनेले विशेषरूपमा ब्रह्मचारिणी देवीको विशेषरूपमा पूजा आराधना गर्ने गर्छन् ।
Discussion about this post