जेठ २३ गते । एक पुरुषले श्रीमती र ३ छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन् । चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएका छन् ।
काठमाडौं प्रहरी वृत्त, गौशालाका डीएसपी केशव थेबेका अनुसार सिंहले श्रीमती बिन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएको जानकारी दिनुभयो । थेबेका अनुसार आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
२४ र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार भइरहेको प्रहरीले जनाएको छ । १६ वर्षीया छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । अन्य तीन जनाको भने शरीरको ८ देखि १० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।
सिंहले मादक पदार्थ सेवन गरी मंगलबार राति झगडा गरी परिवारकै सदस्यलाई मट्टीतेल खन्याएर आगो लगाई आफूलाई पनि आगो लगाएको प्रहरीले जनाएको छ ।
यसैगरी, मोरङको विराटनगरमा पनि एक जना पुरुषले पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाएका छन् ।शरीरमा आगो लगाएका विराटनगर महानगरपालिका–२ का ३९ वर्षीय पवनकुमार कामतको अवस्था गम्भीर रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनु भयो । उहाँका अनुसार विराटनगर–७ हरियाली टोलमा कामतले मंगलबार साँझ करिब ८ बजेतिर पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।
आगोले कामतको शरीरको लगभग ७० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ । कामतको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।
Discussion about this post