जेठ ४ गते। भारतमा लोक सभा निर्वाचनका कारण जयनगर–जनकपुरधाम–भङ्गहा रेलसेवा तीन दिनसम्म बन्द हुने भएको छ । भारत मधुवनी जिल्लाको मधुवनी संसदीय निर्वाचन क्षेत्रमा हुन लागेको निर्वाचनका कारण जेठ ५ देखि ७ गतेसम्म जनकपुरधाम– जयनगर रेलसेवा बन्द रहने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक निरञ्जनकुमार झाले बिहीबार एका सूचना जारी गर्दै शनिबारदेखि सोमबारसम्म रेलसेवा पूर्णरुपमा बन्द रहने बताए । नेपाल भारतका दुवै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीले ७२ घण्टाका लागि इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार रेल सेवा तीन दिनका लागि बन्द हुनेछ ।
मङ्गलबार बिहानदेखि उक्त खण्डमा साबिकको समयअनुसार नियमित रेलसेवा सञ्चालन हुने जारी सूचनामा उल्लेख छ । यसअघि भारत मधुवनी जिल्ला झंझारपुर संसदीय निर्वाचन क्षेत्रमा वैशाख २५ गते भएको लोकसभा चुनावका बेला पनि वैशाख २३ देखि २५ गतेसम्म जयनगर– जनकपुरधाम– भङ्गहा रेलसेवा बन्द रहेको थियो ।
Discussion about this post