जनकपुरधाम/वैशाख ३१ गते। जनकपुरबाट दिनदहाड़े पेस्तोल काे आडमा एक सहकारीका ८० लाख रुपैयाँ लुट्ने दुई जनालाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका– १९ मा सहकारी कर्मचारीको साथमा रहेको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । लुटपाटमा संलग्न रहेको भन्दै जनक महतो र श्रवण कापरलाई प्रहरीले जनकपुरधामबाट पक्राउ गरिएको जनाएको छ ।
दुवैजनालाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुबाट लुटेको मध्ये १४ लाख ५३ हजार बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।
गत वैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरका शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतो जनकपुरको हिमालय बैंकबाट ८० लाख रकम निकालेर लगिरहेका थिए ।
मोटरसाइकलमा आएका तीनजना हतियारधारीले जनकपुरधाम १९ थुमौनाबाट पेस्तोल देखाएर ८० लाख लुटेर फरार भएका थिए । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Discussion about this post