काठमाडौं/जेठ १४ गते । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनालाई आम माफी दिएका छन् ।
त्यस्तै ४८२ कैदीको बाँकी कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । आममाफी र कैद मिनाहापछि उनीहरु सोमबार छुट्नेछन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको निर्णय सिफारिसअनुसार रेशम चौधरी, टोपबहादुर बुढासहित १९ जनालाई संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ अनुसार गणतन्त्र दिवसका अवसरमा कैद माफी गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले रेशमलगायत कैदीलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
कानूनअनुसार ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीको बाँकी कैद राष्ट्रपतिले मिनाहा गर्ने व्यवस्था छ । यस्तै विभिन्न कसुरमा दोषी ठहर भएका व्यक्तिलाई राष्ट्रपतिले आम माफी दिन सक्ने व्यवस्था पनि कानूनमा छ ।
मन्त्रिपरिषद्ले ५० प्रतिशत सजाय कटाइ सजाय माफी मिनाहाको निवेदन दिएका रेशम चौधरीलगायत कैदीलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफी मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

४८२ जनाको कैद सजाय माफी
त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा ४८२ जनाको कैद सजाय मिनाह गरेका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ कैदीको भुक्तान हुन बाँकी कैद सजाय मिनाह भएको जानकारी दिइन् ।

मन्त्रिपरिषद्को सिफारिसमा सोमबारदेखि लागु हुनेगरी रमेश थलङ भन्ने हेमबहादुरसमेत ४७५ र ज्येष्ठ नागरिक उदयनारायण गिरीसमेत ७ गरी कुल ४८२को कैद भुक्तान हुन बाँकी सजाय मिनाह भएको हो ।





















Discussion about this post